यही गतिमा कोरोना फैलिए अस्पतालमा बिरामी राख्ने ठाउँ हुँदैन : स्वास्थ्य मन्त्रालय

Halesi Khabar
0 Shares

काठमाडौँ, १२ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरेना संक्रमणको अहिलेको चक्रलाई रोक्न नसके केही दिनमा अस्पतालमा बिरामी राख्ने ठाउँ पनि नहुने चेतावनी दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आइतबार एक विज्ञप्ति जारी गरी कोरोना संक्रमण र उपचारको दुखद दृश्य स्वास्थ्यकर्मीहरुले दैनिक रुपमा देखिरहेको बताएका छन् ।

‘संक्रमणको चक्रलाई रोक्न सकिएन र यही गतिमा फैलँदै गएमा केही दिनमै अस्पतालमा बिरामी राख्ने ठाउँसम्म हुने छैन’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले व्यक्ति व्यक्तिले निर्वाह गर्न सक्ने भूमिकाहरुबाट कसैलाई पनि विचलित हुन नदिऔं, खबरदारी गरौं ।’

कोरोना संक्रमण रोकथामकालागि सरकारले तोकेका स्वास्थ्य मापदण्ड पालना गर्नु निर्विकल्प उपाय भएको मन्त्रालयले जनाएको छ । सरकारले सकेसम्म घर बाहिर ननिस्कन, सभासम्मेलन नगर्न, बाहिर निस्कनै परेमा अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा थप ३१२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ, थप २८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२९२ पीसीआर परीक्षणमा ३०३२ र ७८६ एन्टिजेन परीक्षणमा ९० जना गरी ३१२२ जनामा संक्रमण पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया