काठमाडौँ, १२ वैशाख । नेपाली काँग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर नयाँ सरकार बनाउने प्रयासलाई जारी राख्ने भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले ओली सरकारको विकल्प खोज्न पार्टीले गर्दै आएको प्रयासलाई जारी राख्ने निर्णय भएको नेता अर्जुन नरसिंह केसीले जानकारी दिनुभयो ।
बैठकमा ओली सरकारको विकल्प दिनका लागि काँग्रेसको नेतृत्वमा हुँदै आएको पहल र छलफल सकारात्मक दिशातिर अघि बढेको निष्कर्ष निकालिएको छ । काँग्रेसले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय लिएपछि माओवादीसहितका दलहरूसँग संवाद गर्दै आएको छ ।
सोहीअनुसार पटक पटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपासँग पनि छलफल भएको छ । काँग्रेसले ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउनका लागि हस्ताक्षर अभियान समेत चलाएको छ । सो अभियानले छिट्टै पूर्णता पाउने नेताहरुले बताउँदै आएका छन् ।
यस्तै पदाधिकारी बैठकले भोलिका लागि तय भएको केन्द्रीय समिति बैठक स्थगित गरेको छ । भोलि सोमबार केन्द्रीय सदस्यहरुको कोभिड परीक्षण गर्ने र मंगलबार बैठक बस्ने केसीले जानकारी दिनुभयो ।
बैठकमा अन्य पार्टीबाट काँग्रेस प्रवेश गर्नेहरुको उचित व्यवस्थापन गर्ने, विदेशमा रहेका पार्टीको महाधिवेशनका मतदातालाई अब समावेश नगर्नेलगायतका विषयमा पनि छलफल भएको बताइएको छ ।