काठमाडौँ, १२ वैशाख । कोभिड सङ्कट ब्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले विद्यालयस्तरका सबै परीक्षाहरू स्थगित गर्न सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बसेको सिसिएमसीको बैठकले सो निर्णय गरेको हो ।
सोमबारदेखिका सबै परीक्षा स्थगित गर्ने सीसीएमसीले निर्णय गरे पनि जेठमा हुने एसईई परीक्षाका सम्बन्धमा भने कुनै निर्णय भएको छैन । स्रोतले भन्यो, ‘एसईई परीक्षाबारे पछि निर्णय लिइनेछ ।’
यसैबीच, कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले पहाडमा २०० र तराई तथा उपत्यकाका जिल्लाहरुमा ५०० सङ्क्रमित भेटिएमा निषेधाज्ञा जारी गर्ने भएको छ । त्यस्तो अवस्थामा निषेधाज्ञा लगाउन स्थानीय प्रशासनलाई सीसीएमसीले अधिकार प्रत्यायोजन गरेको छ ।
आइतबार बसेको सीसीएमसीका बैठकले यस्तो निर्णय गरेसँगै काठमाडौँ लगायतका नौँ जिल्लामा तत्काल निषेधाज्ञा लागू हुने सङ्केत देखिएको छ । किनभने, काठमाडौँ लगायतका केही जिल्लामा सङ्क्रमितको संख्या ५०० नाघिसकेको छ ।