त्रिधार्मिक धाम हलेसीसहित सम्पूर्ण मठमन्दिर तथा हाटबजार १५ दिनका लागि बन्द

Halesi Khabar
0 Shares

खोटाङ, १५ वैशाख । कोभिड–१९ को दोस्रो चरणको महामारीलाई मध्यनजर गर्दै खोटाङको त्रिधार्मिक धाम हलेसी मन्दिरसहित जिल्ला विभिन्न ठाउँमा लाग्ने हाटबजार १५ दिन बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) खोटाङको आकस्मिक बैठकले दैनिकजसो दर्शनार्थीको भीड लाग्ने त्रिधार्मिक धाम हलेसी मन्दिरसहित जिल्लाका विभिन्न ठाउँमा लाग्ने हाटबजार यहि वैशाख मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने हलेसीमा उपस्थित हुने दर्शनार्थी एवम् तीर्थयात्रीको भीडभाडका कारण एक अर्कामा कोभिड–१९ को सङ्क्रमण फैलने खतरा बढेकाले १५ दिनका लागि हलेसी मन्दिर बन्द गर्ने निर्णय गरिएको डिसिसिएमसिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउनुभयो । संयोजक शर्माका अनुसार कोभिड–१९ कै महामारी रोकथाम तथा न्यूनीकरण गर्न वि.सं. २०७७ चैत ८ गतेदेखि २०७७ साल मङ्सिर १६ गतेसम्म बन्द गरिएको हलेसी मन्दिर पुनः आज (बुधबार)देखि लागू हुनेगरी १५ दिन बन्द गरिएको हो ।

गत वर्ष कोरोना कहरबीचमा हिन्दु, किराँत र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र हलेसी गुफाको फलामे गेटमा ताला लगाएर बाहिरैबाट पूजाआजा गर्ने व्यवस्था मिलाइएको थियो । कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा सहयोग पु¥याउने उद्देश्यले हलेसीको गुफा प्रवेशमा रोक लगाइएको यो दोस्रो पटक हो ।

दैनिक भक्तजन तथा दर्शनार्थीको भीड लाग्ने त्रिधार्मिक धाम हलेसी गुफा कोभिड–१९ को महामारीका क्रममा बन्द गर्नु अगाडि कहिल्यै बन्द गरिएको थिएन । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)को बैठकले हलेसीसँगै जिल्लाका सबै मठ, मन्दिर, शक्तिपीठ, मस्जिद, गुम्बा र चर्चमा दैनिक रुपमा गरिने पूजापाठ, प्रार्थना बाहेक भेला भएर गरिने पूजा, प्रार्थना, भजनकृतन, कलश यात्रा, बलिपूजा जस्ता धार्मिक कार्यहरु वैशाख मसान्तसम्म बन्द गर्ने÷गराउने निर्णय भएको छ ।

जिल्लाका दशवटै स्थानीय तहका विभिन्न स्थान र समयमा लाग्ने सम्पूर्ण हाटबजार अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने÷गराउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभएको छ । कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले भेला जम्मा भएर गरिने सभा, सम्मेलन, गोष्ठी, मेमिनार, उदटन, शिलान्यास, चियापान कार्यक्रम जस्ता राजनीतिक तथा अन्य क्रियाकलाप नगर्ने÷नगराउने निर्णय गरेको छ ।

यस्तै, कार्यालय, पसल जस्ता सार्वजनिकस्थलमा सेनिटाइजर र मास्कको प्रयोग गर्ने, कुनै व्यक्तिले मास्क नलगाई आएमा व्यवस्थापकले बढीमा रु दश लिएर मास्क उपलब्ध गराउने, मास्क नलगाउने व्यक्तिलाई कार्यालय वा पसलमा प्रवेश गर्न नदिने निर्णय गरेको जनाइएको छ । डिसिसिएमसिको निर्णय कार्यान्वयन गराउन जिल्लास्थित विभिन्न ठाउँमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर क्षेत्रभन्दा बाहिरबाट आएका आफ्ना नागरिकलाई अनिवार्य होम क्वारेन्टिनमा बस्न आग्रह गरेको छ । मुलुकभर महामारीको रुपमा फैलिएको कोभिड–१९ को दोस्रो चरणको सङ्क्रमण दर थप बढ्न सक्ने खतरा देखिएको भन्दै नगरपालिकाले आफ्नो नगरपालिकाभन्दा बाहिरका क्षेत्र तथा शहर बजारबाट आउने नागरिकलाई अनिवार्य १५ दिन होम क्वारेन्टिनमा बस्न आग्रह गरेको हो ।

दुई नगरपालिका र आठ गाउँपालिकागरी दश स्थानीय तह रहेको जिल्लामा हालसम्म ७१ जनामा सङ्क्रमण देखिएको छ । कोरोना भाइरसको सङ्क्रमण देखिएका जिल्लाका सबैजना सङ्क्रमित उपचारपछि आ–आफ्नो फर्किसकेका जिल्ला छन् ।

यसैबीच, जिल्लाका दशवटै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा क्वारेन्टिन तथा आइसोलेशन वार्ड व्यवस्थापनको कामलाई तीव्रता दिएका छन् । कोभिड–१९ को दोस्रो चरणको सङ्क्रमण फैलनेक्रम बढेसँगै यसअघि निर्माण गरिएका क्वारेन्टिन तथा आइसोलेशन वार्डहरु सरसफाइ गर्दै व्यवस्थित गर्ने काम शुरु गरेका हुन् ।

पन्ध्र वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको नवनिर्मित भवनलाई आइसोलेशन वार्डको रुपमा विकास गर्ने काम शुरु गरेको छ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाले समेत क्वारेन्टिन तथा आइसोलेशन वार्ड व्यवस्थापनको काम शुरु गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया