खोटाङ, १५ वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कोभिड–१९ का सङ्क्रमितलाई लक्षित गर्दै ३२ बेडको आइसोलेसन सेन्टर स्थापना गरेको छ । देशभर कोभिड–१९ को सङ्क्रमण फैलिन थालेपछि जिल्लामा पनि फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै नगरपालिकाले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिक्तेलको भवनमा आइसोलेसन सेन्टर स्थापना गरेको हो ।
कोभिड–१९ का सक्रिय सङ्क्रमितलाई राखेर उपचार गर्ने व्यवस्थाका लागि आइसोलेसन सेन्टर निर्माण गरिएको नगरपप्रमुख दीपनारायण रिजालले बताउनुभयो । नगरपालिकाले नेपाली सेनाको सहयोगमा २७ जना पुरुष र पाँच जना महिला सङ्क्रमित राखेर उपचार गराउन मिल्ने गरी बिनाअक्सिजनको आइसोलेसन सेन्टर निर्माण गरेको छ ।
आयुर्वेद स्वास्थ्य केन्द्रको ठूलो हलमा पुरुष र अर्को सानो कोठामा महिलालाई राख्ने गरी बेड मिलाइएको छ । सेनाले नगरपालिकाले उपलब्ध गराएको सामग्रीबाट दुई दिन लगाएर आइसोलेसन सेन्टर तयार पारेको हो ।
नरपालिकाभित्र फेला परेका संक्रमितलाई सोही आइसोलेसनमा लगेर उपचारमा राखिनेछ । हाल बेड मात्र राखिएको आइसोसेलन सेन्टरमा तत्काल अक्सिजन सिलिन्डरको व्यवस्था गरिने नगरप्रमुख रिजालले बताउनुभयो ।
आइसोसेलन सेन्टरमा विद्युत र पानी व्यवस्थापनको भने कमी देखिएको छ । जिल्लामा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) खोटाङको निर्णय अनुसार नगरपालिकाले आइसोसेलन सेन्टर तयार गरेको हो ।
सङ्कट व्यवस्थापन केन्द्रले जिल्लाका दश स्थानीय तहमध्ये नगरपालिकालाई अक्सिजनसहित ३० बेड र गाउँपालिकालाई २० बेडको आइसोलेसन सेन्टर व्यवस्थापन गर्न निर्देशन दिएको थियो । यस्तै, स्वास्थ्य सुरक्षाका सामग्रीको आपूर्ति व्यवस्था मिलाई तयारी अवस्थामा रहन, भिटिएम तथा एन्टिजेन टेस्ट किटको स्टक व्यवस्थापन गरी कन्ट्याक्ट ट्रेसिङ गर्ने व्यवस्था मिलाउन भनिएको छ ।