सहकारी सङ्घका अध्यक्ष अनिल जोशीको कोरोना सङ्क्रमणबाट मृत्यु

Halesi Khabar
0 Shares

खोटाङ, १६ वैशाख । जिल्ला सहकारी सङ्घ खोटाङका अध्यक्ष अनिल जोशीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । सहकारीकै कामको सिलसिलामा पोखरा पुग्नुभएका अध्यक्ष जोशीमा कोरोना सङ्क्रमण देखिएपछि पोखरास्थित आम्दा अस्पतालमा उपचार गराउँदा गराउँदै गएराति मृत्यु भएको हो ।

मृतक जोशीको शव पोखरास्थित नेपाली सेनाको शव व्यवस्थापन टोलीले आज (बिहीबार) नै व्यवस्थापन गर्ने तयारी गरेको जनाइएको छ । विराटनगरबाट गत चैत–२९ गते पोखरा जोशीमा यहि वैशाख–५ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि वैशाख–६ गते अस्पताल भर्ना गरिएको थियो ।

चैत–२५ दिक्तेलबाट विराटनगर हुँदै पोखरा पुग्नुभएका जोशीमा विराटनगर हुँदा सामान्य रुघाखोकीको सङ्क्रमण देखिएको पारिवारिक स्रोतले जनाएको छ । पारिवारिक स्रोतका अनुसार रुघाखोकीले च्याप्दै गएपछि पोखरामा स्वाब परीक्षण गर्दा जोशीलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

सहकारी अभियान्ता अध्यक्ष अनिलको ४४ वर्षको उमेरमै कोरोना सङ्क्रमणबाट निधन भएपछि परिवार शोकमा डुबेको छ । दुई श्रीमती र एक छोराका बुबा अनिल लामो समयदेखि सहकारी संस्थामै क्रियाशील हुनुहुन्थ्यो ।

पोखरस्थित प्राइम सहकारी संस्थाका संस्थापक अध्यक्षसमेत रहनुभएका जोशी खोटाङमा सञ्चालित लालुपाते सहकारी संस्थाका अध्यक्ष एवम् सञ्चालक हुनुहुन्थ्यो । सरल स्वभाव तथा कुशल नेतृत्व गर्न सक्ने क्षमता भएका सहभारी अभियान्ता अध्यक्ष जोशीको कोरोना सङ्क्रमणबाट निधन भएपछि उहाँप्रति सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि दिनेक्रम चलिरहेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारका बुबा हरि जोशी तथा आमा रमा जोशीका तीन छोरामध्ये अनिल जेठा छोरा हुनुहुन्छ । दिक्तेल बजारका स्थानीय बासिन्दाको कोरोना सङ्क्रमणबाट मृत्यु भएपछि जिल्लामा उच्च स्वास्थ्य सुरक्षा सर्तकता अपनाइएको छ ।

तपाईको प्रतिक्रिया