खोटाङ, १८ वैशाख । नेपाल पत्रकार महासङ्घ खोटाङले दिक्तेल बजारस्थित भवनगैरामा सम्पर्क कार्यालय स्थापना गरेको छ । कृषिविज्ञ मदन राईले निःशुल्क उपलब्ध गराउनुभएको रत्नपार्कस्थित जग्गामा कार्यालय भवन निर्माण गरिएको भएपनि सञ्चालनमा नभएपछि सहजताका लागि दिक्तेल बजारस्थित भवनगैरामा भाडाको घरमा महासङ्घको सम्पर्क कार्यालय स्थापना गरिएको हो ।
भवनगैरास्थित खोटाङ खबर साप्ताहिकको कार्यालय रहेको भाडाको घरमा स्थापना गरिएको पत्रकार महासङ्घको सम्पर्क कार्यालय सम्पादक समाजका अध्यक्ष कृष्ण आचार्यले शनिबार बोर्ड राखेर उद्घाटन गर्नुभयो । रत्नपार्कस्थित खोटाङ विकास मञ्चको कार्यालय नजिकै वि.सं. २०६७ सालमा निर्माण सम्पन्न गरिएको पत्रकार महासङ्घको कच्ची भवन हाल दष्टिबिहिनहरुका लागि निःशुल्क बस्न दिइएको छ ।
यसैबीच, नेपाल पत्रकार महासङ्घ खोटाङले कोभिड–१९ को महामारीका बेला पत्रकारलाई सहजताका साथ सूचना उपलब्ध गराउन माग गरेको छ । कोरोना भाइरसको सङ्क्रमणको उच्च जोखिम मोलेर आम नागरिकलाई सूसुचित गराउने गहन जिम्मेवारी वहन गरिरहेका पत्रकारलाई सहजताका साथ सूचना तथा जानकारी आदान–प्रदान गर्ने वातावरण सिर्जना गर्न सम्बन्धित पक्षसाँग माग गरेको हो ।
कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा निर्मूलन पार्न सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा नीति, कार्यक्रम, स्वास्थ्य योजना तथा निर्णयप्रति ऐक्यवद्धता जनाउँदै महासङ्घले स्वास्थ्य मापदण्ड पालना गर्ने÷गराउने वातावरण निर्माणका लागि समन्वय र सहकार्य गर्ने प्रतिवद्धता जनाएको छ । पत्रकार महासङ्घले कोरोना कहरका समयमा ‘आफू बच्ने र बचाउने’ अभियान सफल पार्नक सञ्चारमाध्यम तथा सञ्चारकर्मीको भूमिका प्रभावकारी बनाउन जिल्लास्थित जनप्रतिनिधि, प्रशासन, प्रहरी, राजनीतिक दल, उद्योगी, व्यवसायी, नागरिक समाज लगायतलाई अपिल गरेको छ ।
महामारीको कठिन परिस्थितिमा पत्रकारिताको माध्यमबाट आम नागरिक माझ सही सूचना पु¥याउन सकेको खण्डमा थप क्षति व्यहोर्नु नपर्ने महासङ्घका अध्यक्ष दिलिप खत्रीले हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । पत्रकार महासङ्घले जिल्लामा कार्यरत पत्रकार तथा सञ्चारकर्मीलाई व्यक्तिगत स्वास्थ्यप्रति अधिकतम सजगता अपनाउँदै जिम्मेवारी पुरा गर्नसमेत आग्रह गरेको छ ।
विश्वभर महामारीको रुपमा फैलिकएको कोरोना भाइरसको सङ्क्रमणबाट बँच्न पत्रकार महासङ्घले जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चार माध्यमलाई मास्क र सेनीटाइजरसमेत वितरण गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय खोटाङले उपलब्ध गराएको चार बोत्तल सेनीटाइन र ३०० थान सर्जिकल मास्क शनिबार महासङ्घले पत्रकार तथा सञ्चार माध्यमलाई वितरण गरेको हो ।
दैनिक समाचार सङ्कलन तथा प्रकाशन÷प्रशारणमा खटिने जिल्लाका पत्रकारको स्वास्थ्य सुरक्षाका लागि मास्क र सेनीटाइजर प्रदान गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिक्देलले बताउनुभयो । स्वास्थ्य कार्यालयले उपलब्ध गराएको स्वास्थ्य सामग्री सम्पादक समाजका अध्यक्ष कृष्ण आचार्य, पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष दमन राई लगायतले पत्रकार तथा सञ्चारमाध्यमलाई वितरण गर्नुभएको हो ।