खोटाङ, १८ वैशाख । असिनापानीले नष्ट पारेको मकै लगायत अन्नबालीमा फौजी किराको प्रकोप फैलिएपछि जिल्लाका किसान चिन्तित बनेका छन् । केही दिनदेखि निरन्तर परिरहेको असिनापानीले नष्ट पारेको मकै लगायत अन्नबालीमा फौजी किराको प्रकोपसमेत फैलिएपछि किसान चिन्तित बनेका हुन् ।
फौजी किराले प्रमुख बालीका रूपमा लगाइएको मकैको बिरुवाको मुन्टा, गुभा, पात खाएर नष्ट गरेको छ । मकै उम्रिएर ३÷४ पात पलाउँदादेखि गोडमेल गर्ने बेला भएको र गोडमेल गरिसकेको बिरुवालाई फौजी किराले नष्ट गर्दा उत्पादन घट्ने र खाद्यान्न सङ्कट निम्तिने डरले किसान चिन्तित हुन् ।
असिनापानीका कारण रावाबेँसी गाउँपालिकाको एउटै वडामा लाखौँ मूल्य बरारबको अन्नबालीमा क्षति पुगेको जनाइएको छ । यही वैशाख २ गते परेको असिनाले उक्त गाउँपालिकाको वडा नं.–६ हौंचुरको पैयाँमा करीब ५२ हेक्टर क्षेत्रफलमा लगाइएको रु २३ लाख बराबरको अन्नबाली नोक्सान गरेको जनाइएको छ ।
हौंचुरस्थित पैँयाका ३१ घरपरिवारले लगाएका आलु, मकै, गहुँ, जौ, तरकारी तथा फलफूलमा ठूलो क्षति पु¥याएको गाउँपालिका कृषि शाखाका संयोजक मुगाधन राईले बताउनुभयो । असिनाले पु¥याएको क्षतिका विषयमा जानकारी आएपछि गाउँपालिकाको कृषि प्राविधिक टोली स्थलगत अनुगमनमा पैयाँ पुगेका थिए ।
जिल्लाका दश स्थानीय तहमध्ये हालसम्म जन्तेढुङ्गा गाउँपालिकाबाहेक अन्य स्थानीय तहमा लगाइएको मकै बालीमा फौजी किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र खोटाङका बाली संरक्षण अधिकृत रामनन्द यादवले बताउनुभयो । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा फौजी किराको प्रकोप देखिएको छ ।
कृषि ज्ञान केन्द्रका अनुसार उक्त नगरपालिकामा करीब एक हजार ८०० रोपनीमा, रावाबेँसीमा ९०० रोपनीमा, साकेलामा ५०० रोपनीमा, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ४०० रोपनीमा, ऐँसेलुखर्क गाउँपालिकामा ४०० रोपनीमा, केपिलासगढी गाउँपालिकामा २५० रोपनीमा फौजी किराले क्षति पु¥याएको छ । यस्तै, बराहपोखरी गाउँपालिकामा १५० रोपनीमा, खोटेहाङ गाउँपालिकामा १५ रोपनी र हलेसी तुवाचुङ नगरपालिकामा १० रोपनी जग्गामा लगाइएको मकै बालीमा फौजी किराको प्रकोप देखिएको हो ।
कतिपय बेँसी क्षेत्रमा मकै छर्न बाँकी रहेकाले फौजी किराबाट प्रभावित क्षेत्र बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । फौजी किरा नियन्त्रणका लागि कार्यालयबाट विनियोजन गरिएको आकस्मिक प्रकोपको बजेटबाट विषादी मगाएर सम्बन्धित स्थानीय तहमा पठाइसकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
हरेक वर्ष फौजी किराको प्रकोप देखिने गरे पनि नियन्त्रणमा स्थानीय सरकारको ध्यान नपुगेको किसानको गुनासो छ । केही वर्षदेखि जिल्लामा प्रकोपकै रुपमा वर्षेनी देखा पर्ने पौजी किराले गत वर्ष जिल्लाका अधिकांश स्थानीय तहका किसानले लगाएका अन्नबाली तथा वनजङ्गल नै सखाप पारेको थियो ।
अमेरिकन फौजी किरा भनेर निनिने धुस्रे किराले २०७७ मा अधिकांश स्थानीय तहको बेँसी क्षेत्रका मकै सखाप पारेको थियो । विगतका वर्ष कृषि ज्ञान केन्द्र र सम्बन्धित स्थानीय तहले विषादी खरिद गरेर किसानलाई बाँडे पनि फौजी किराको प्रकोप घट्नुको सट्टा बढीरहेको किसानहरुले बताएका छन् ।
प्रकोप देखिएका क्षेत्रमा विषादी हाल्दा फौजी किरा नियन्त्रणमा आए पनि नयाँ–नयाँ ठाउँमा फैलिने गरेको हलेसी तुवाचुङ नगरपालिकाका कृषक तामन राईले बताउनुभयो । बेँसी क्षेत्रका खेतबारीमा लगाइएको मकैमा फौजी किराको प्रकोप अधिक देखिए पनि लेकाली क्षेत्रका मकैमा भने यसको प्रकोप देखिएका छैनन् ।
फौजी किराले खेतबारीमा भएका हरेक अन्नबालीदेखि हरिया घाँसपातसमेत खाने गरेको किसानहरुले बताएका छन् । फौजी किराले खाएको अन्नबाली तथा बोटबिरुवा नबढ्ने र उत्पादन पनि शून्य हुने गरेको बताइएको छ ।
विषादी लगाउँदा नियन्त्रणमा आउने अवस्था नदेखिएपछि गत वर्ष कतिपय किसानले मकैको बोटबाट फौजी किरा सङ्कलन गरेर कुखुरालाई खुवाएका थिए । कतिपय किसानले भने राति बारीको डिलमा आगो बालेर नियन्त्रणको प्रयास गरेका थिए ।
कृषि क्षेत्रमा राज्यको ठूलो लगानी भएपनि स्थानीयस्तरमा जैविक विषादी तयार पारेर फौजी किरा नियन्त्रण गर्ने प्रयास सफल भएको छैन । जिल्लाका हरेक स्थानीय तहले कृषि उपज उत्पादन तथा निर्यातमा जोड दिने उद्देश्यले कृषि क्षेत्रमा लगानी गरेका छन् ।