बुटवल, २० वैशाख । लुम्बिनी प्रदेशमा कोरोना संक्रमितको उपचारका लागि छुट्याइएका चारवटा सरकारी अस्पतालमा बेड अभाव देखिएको छ । गम्भीर खालका बिरामीको उपचारका लागि भेन्टिलेटर, अक्सिजनयुक्त बेड लगायतका सुविधा नभएपछि नयाँ बिरामी भर्ना लिन नसक्ने भन्दै अस्पताल पन्छिन थालेको छ ।
धन हुनेले हेलिकोप्टर चार्टर गरेर बिरामीलाई काठमाडौं लैजाने, कतिपले आफैं अक्सिजनको जोहो गरेर अस्पतालमा भर्ना हुने, कोही पालो कुरेर बस्दाबस्दै भर्ना नपाएर ज्यान गुमाइरहेका स्वास्थ्यकर्मीहरु नै बताउँछन् ।
रुपन्देहीको देवदह नगरपालिकाकी ४९ वर्षीय संक्रमित महिलाको पनि उपचार नपाएरै मृत्यु भयो । संक्रमण पुष्टि भएर गम्भीर स्वास्थ्य समस्या देखिएकी उनको अस्पताल भर्ना हुने पालो कुर्दाकुर्दै मंगलबार मृत्यु भएको हो ।
सैनामैना–३ की संक्रमित एक महिलालाई हेलिकोप्टर चार्टर गरेर परिवारले काठमाडौं लगेका छन् । केही दिन उपचार गरे पनि समस्या थपिएपछि आफन्तले उनलाई हेलिकोप्टर चार्टर गरेर काठमाडौं लगेका हुन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा हालसम्म ५७० संक्रमितको मृत्यु भइसकेको छ । दैनिक १२÷१५ जनाका दरले संक्रमितको मृत्यु भइरहेको निर्देशनालयले जनाएको छ ।
प्रदेश निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले प्रदेशमा सक्रिय संक्रमितको संख्या १० हजार ४०० रहेको बताउनुभयो । दैनिक करिब एक हजारको हाराहारीमा नयाँ संक्रमित थपिएको र यो क्रम अझ बढ्ने उचौधरीको भनाइ छ ।
प्रदेश सरकारले पर्याप्त बेड, उपकरण र जनशक्तिको व्यवस्थापनमा ध्यान दिन नसकेको सर्वसाधारणको गुनासो छ । नवलपरासीको बर्दघाटबाट दाजुको उपचारका लागि बुटवल आएका राम चौधरीका अनुसार नेताहरु सत्ताका लागि मात्र केन्द्रीत रहेका छन् ।
कोरोनाको पहिलो लहर कम भएपछि दोस्रो लहर आउन सक्छ भन्नेबारे विश्वका अन्य मुलुकबाट पाठ सिकेर पूर्वतयारी गर्नुपर्नेमा प्रदेश सरकारले त्यसतर्फ पटक्क ध्यान नदिएको उहाँले बताउनुभयो । हुन पनि प्रदेशमा यसअघिकै सीमित संरचनाले काम चलाइएको छ ।
एक वर्षअघि बनाउने भनिएका एचडियु बेड र जनशक्ति थप गर्ने योजना दोश्रो लहरले भयावह स्थिति सिर्जना भएपछि बल्ल अगाडि बढाइएको छ । बुटवलको कोरोना अस्पतालमा गत वर्ष नै थप गर्ने भनिएको एचडियु बेड बल्ल थप्ने काम भएको छ ।
अस्पतालका कोरोना फोकल पर्सन डा नन्दु पाठकले बेड शनिबार बल्ल तयार गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘३२ वटा एचडीयू बेड तयार गरियो तर अझै पनि पुग्दैन, किनकि बिरामीहरु दैनिक बढिरहेका छन् ।’
प्रदेश सरकारले पर्याप्त बजेटको व्यवस्था नगर्दा पूर्वाधारसँगै कोभिड अस्पतालहरुले जनशक्तिको पनि अभाव झेलिरहेका छन् । बुटवलको कोरोना अस्पतालका स्वास्थ्यकर्मीहरुले तीन महिना देखि तलबभत्ता पाएका छैनन् ।