दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि बाँझेच्यानडाँडा शिल

Halesi Khabar
0 Shares

खोटाङ, २० वैशाख । एउटै वडाका दुई जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडालाई शिल गरिएको छ । ५३ वर्षका खत्री थरका र २० वर्षका रोका थरका पुरुषलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि सोमबार वडालाई शिल गरिएको हो ।

सङ्क्रमितसँगको सम्पर्कमा पुगेका व्यक्तिको कन्ट्याक्ट ट्रोसिङ शुरु गरिएको र कन्ट्याक्ट ट्रोसिङमा परेका व्यक्तिको पिसिआर परीक्षणको रिपोर्ट नआएसम्मका लागि वडालाई सिल गरिएको साकेला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन मगरले बताउनुभयो । कोरोना सङ्क्रमित फेला परेसँगै वडा कार्यालयभित्र प्रवेश गर्न र वडाको क्षेत्रभन्दा बाहिर जान रोक लगाइएको छ ।

यस्तै, वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा पनि बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत मगरले बताउनुभयो । गाउँपालिकाभित्रका २६ जनाको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरेर शनिबार प्रादेशिक जनस्वास्थ्य कार्यालय बिराटनगर पठाएकामा सोमबार दुई जनाको पोजिटिभ रिपोर्ट आएको हो ।

काठमाडौँमा अध्ययनरत रोका वैशाख १५ गते र खत्री चितवनबाट वैशाख १६ गते घर आएका हुन् । उनीहरु दिक्तेलबजारमा बास बसेर घर पुगेको खुलेको छ ।

हाल उनीहरुको कन्ट्याक्ट ट्रेसिङका काम भइरहेको जनाइएको छ । सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

हाल होम क्वारेन्टिनमा बसिरहेका सङ्क्रमितलाई मङ्गलबार बिहान साकेला गाउँपालिका–२ रतन्छास्थित अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा लगेर राख्ने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत मगरले बताउनुभयो ।

दश स्थानीय तहमध्ये साकेला गाउँपालिकाले मात्र स्थानीयको पिसिआर परीक्षणमा तत्परता देखाएको छ । हालसम्म अन्य स्थानीय तहले भने शंकास्पद व्यक्तिको पिसिआर परीक्षणमा ध्यान पु¥याउन सकेको छैन ।

तपाईको प्रतिक्रिया