मृत्युसँग हामी श्रद्धाञ्जली नै त साटीरहेका छैनौँ ?

Halesi Khabar
0 Shares

–भीम राई
खोटाङमा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणले दुईजना व्यक्तिको मृत्यु भयो । एकजना युवा व्यवसायी तथा सहकारी अभियान्ता अनिल जोशी र अर्का बैङ्किङ क्षेत्रमा कार्ययत कर्मचारी लीला जोशी ।

उनीहरुको कोरोना भाइरसकै कारण ज्यान गएको हो । जिल्लाबाट बाहिरै रहेका तर, खोटाङबासी उनीहरु जिल्लाका लागि उम्दा व्यक्तित्वहरु थिए । उनीहरुको मृत्युले दिक्तेल बजार लगायत खोटाङ जिल्ला स्तब्ध बनेको छ । योसँगै त्रास र डरको विकास पनि भएको छ । सुरक्षा संवेदनशीलतामा थप जिम्मेवार बन्नुपर्ने आवश्यकता महशुस गरिएका छ । सबैतिर त्रासदीपूर्ण वातावरण निर्माण हुनुका साथै सबैमा पिर चिन्ता थपिएको छ ।

हुनपनि मुलुक नै आक्रान्त नयाँ भेरियन्सको कोभिड भाइरसले हर कसैलाई पनि छाडेको छैन । न सम्पन्न न बिपन्न सबैको मनमा गत वर्षदेखि नयाँ किसिमको डरले घर गरेको छ । मानिस कुन बेला कहाँ पुगेर रोग सङ्क्रमित हुन्छ थाहा नै नहुने भएपछि मानसिक हिसाबले एक प्रकारको डरको विकास भएको छ ।

रातदिन सञ्चार माध्यमहरुले प्रकाशन तथा प्रशारण गर्ने समाचारले उत्तिकै मानसिक बिराम हुनथालेको पाइन्छ । बिस्तारै मानिसहरुमा डिप्रेशनको खतरा बढ्न थालेको केही तथ्यहरुले देखाएका छन् । जहाँ तहिँ मानिसहरुमा ‘आ…आखिर कोरोनाले मरिने त रहेछ’ भन्ने किसिमको भावना जन्मन थालेको छ । खास गरी सञ्चार माध्यमबाट आउने समाचारहरुले एक किसिमको जानकारी त दिन्छ त्योसँगै निराशाको सन्देश पनि उत्तिकै बाँडीरहेको छ ।

सञ्चार माध्यममात्र होइन अहिले बढेको सामाजिक सञ्जालको प्रयोगकर्ताहरुले समेत निराशा र नैरश्यता बढाउन बढो मद्दत गरिरहेको छ । मृत्यु शास्वत दुःखद हुने नै गर्दछ । अझ यस्तो महामारीका कारण भएको मृत्युले पीडा बाहेक केही दिदैन । तर, उक्त पीडालाई सामाजिक सञ्जालको माध्यमबाट सार्वजानिक गरिरहँदा यसको खास असरका विषयमा हामीले सोचिरहेका छैनौँ ।

हामीलाई मृत्युको खबर सुन्नलाई हतारो भएजस्तै गरेर संवेदना पोख्ने नाममा श्रद्धाञ्जली पोष्ट गर्न निकै हतारो हुन्छ । कतै मृत्युसँग हामी श्रद्धाञ्जली नै साटी त रहेका छैनौँ गम्भीर भएर सोचौँ । मृत्युको केही मिनेट केही सेकेण्डमा हामीले अर्कालाई मर्नका लागि हौस्याउँदै त छैनौँ ? जटिल मोडमा छौँ हामी ।

मृत्यु्लाई असहज भनेर लेखिरहेका हामी सन्चै र सुरक्षित बसेकाहरुलाई त समवेदना बाँडे जस्तो लाग्ला तर, जो आफै बिरामी परेर माहामारीसँग स–शरिर लडिरहेको छ उसका लागि के हाम्रो श्रद्धाञ्लीका शब्दले के मद्दत गर्ला ? एक पटक गम्भीर भएर सोचौँ त । जो सङ्क्रमित छन् उनका आफन्तहरुलाई हामीले लेखेका श्रद्धाञ्ली र सहानुभुतिका शब्दहरु कतिका काम लाग्लान् । एकदमै विचार पु¥याउनु पर्ने कुरा होइन र ?

हरेक मानिसमा आत्मबल रहन्छ । आत्मबल बढाउनका लागि हामीले सहयोग गर्नुपर्ने यो अहिलेका समय हो । यो समयमा आएर हामीले उनीहरुलाई थप मद्दत गर्नुको साटो हामीले नैराश्यता फैलाउने किसिमको काम गर्न हुन्न । माथि नै भनियो सञ्चार माध्यामहरुले दिने सूचनाहरुले समेत मानिसहरुलाई अत्याउने काम भइरहेकोछ । बिहानै उठ्ने बित्तिकै आज कति मान्छे मरेछन् ? बाट सम्वाद शुरु हुनु भनेको मानिसले जबरजस्त मृत्यु कुरी रहेको हो क ? भन्ने भान पर्छ । यस्तो बेला सकारात्मक सन्देश जाने किसिमको समाचार तथा सन्देश दिनु पत्रकारिताको धर्म होइन र ? हामीले लेख्ने समाचारले परिर्वतनको आशा राख्दछ भने आज यतिको मृत्यु भयो भन्ने कुराभन्दा यतिको उपचार सम्पन्नले राहत महशुस गराउँछ कि ?

यसो भनिरहँदा समाचार नै नलेख्नु भन्नेपनि होइन । फरक बुझाइबाट समाचार लेख्न सके सन्देश सकारात्मक दिन सकिन्छ । सामाजिक सञ्जालमै लेख्दासमेत सकारात्मक सन्देश प्रवाह गर्ने हिसाबले लेख्ने र प्रचार गर्ने धेरै शब्दहरु छन् । सरकारलाई जिम्मेवार बनाउनेगरी लेख्न सकिन्छ । जिम्मेवार निकायहरुलाई अझै सशक्त बनाउनेगरी भाषा प्रयोग गर्न सकिएला तर, मृत्युसँग श्रद्धाञ्जली साट्ने काम भने रोक्नु नै पर्दछ ।

मानवीय संवेदना क्षण हँुदै गएको बेला सबैले सबैलाई सम्यमता र धैर्यताको विकास गराउने किसिमको सन्देश बाँड्ने बेला हो । आफू पनि सुरक्षित हुने र अरुलाई सुरक्षित रहन सचेत गराउने समयमा भावना बहकिएर आफ्नो कर्तव्यलाई तोडमोड गर्ने बाटोमा हामी किन लाग्ने ? सकेसम्म सुरक्षा सर्तकता अपनाउदै राज्यले दिएको कोरोना प्रोटोकलको उचित पालना गरौँ ।

कोही कसैलाई सङ्क्रमण भएको भएपनि उनीहरुलाई थप हौसला प्रदान गर्ने उपायहरु खोजौँ । सबैले सबैलाई उचित सम्मान गर्दै सामाजिक व्यवहार गरौँ । समवेदना साट्ने नाममा डिप्रेशनमा लैजाने किसिमको अभिव्यक्तिहरु सकेसम्म आजैबाट बन्द गरौँ । यसो गरे सबैको कल्याण हुने छ !

तपाईको प्रतिक्रिया