काठमाडौँ, ३० वैशाख । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको दावी नगर्ने भएका छन् । यससँगै अब नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै फेरि प्रधानमन्त्री बन्नेछन् ।
संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमाको अन्तिम दिन नेकपा एमालेको विवादमा नयाँ ट्वीस्ट आएसँगै वैकल्पिक सरकार गठनको सम्भावना सकिएको छ ।
कांग्रेस, माओवादी केन्द्र र सिंगो जसपा एकठाउँमा उभिएको भए संसदमा एमालेबाहेकका दलको बहुमत पुग्नसक्थ्यो । तर, जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष नयाँ सरकार गठनको पक्षमा देखिएनन् ।
कांग्रेस सभापति शेरबहादुर देउवासँग बिहीबार विहान भएको भेटमा पनि ठाकुर र महतोले साथ दिन नसक्ने बताएका थिए । कांग्रेस–माओवादी नेताहरुको अपेक्षा थियो, एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले राजीनामा दिनसक्छन् । तर, एमालेमा अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच सहमति जुटेको छ र नेपाल पक्षका सांसदको राजीनामा तत्काललाई टरेको छ ।
बिहीबार विहानै स्थायी कमिटीको बैठक राखेर चार नेतामाथि गरेका कारबाही फिर्ता लिएका अध्यक्ष ओलीले वरिष्ठ नेता नेपालसँग झण्डै साढे ४ घण्टा वार्ता गरेका थिए । २८ फागुनयता अध्यक्ष ओलीले गरेका निर्णयहरु फिर्ता गर्नुपर्ने र २ जेठ २०७५ मा फर्किनुपर्ने नेपाल समूहको शर्तलाई सम्बोधन गर्ने गरी कार्यदल बनाउन अध्यक्ष ओली सहमत भएपछि नेपालका सांसदहरुले राजीनामा दिएनन् ।
सिंगो जसपाले साथ नदिने र नेपाल समूहका सांसदहरुले राजीनामा पनि नदिने भएपछि कांग्रेस र माओवादी नेताहरु नयाँ सरकार गठनका लागि दाबी नगर्ने निर्णयमा पुगेका छन् । पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकपछि कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, ‘महन्थजीहरुले ओलीजीको विपक्षमा जान तयार हुनुभएन । माधवजीहरुले पनि निर्णय गर्न सक्नुभएन । त्यसो हुनाले अब दाबी गर्ने अवस्था रहेन ।’
बहुमतको सरकार गठनका लागि प्रतिनिधिसभाका १३६ सांसदको समर्थन आवश्यक पर्छ । तर कांग्रेससँग ६१ (दुई निलम्बितबाहेक) र नेकपा माओवादी केन्द्रसँग ४९ सांसद मात्र छन् । जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष पनि वैकल्पिक सरकार गठनको पक्षमा छन् । तर यसले पनि बहुमत पुग्दैन ।
एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरुले राजीनामा दिएमा बहुमत पु¥याउन कांग्रेस, माओवादी केन्द्र र जसपाको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षका सांसदले नै पुग्ने आशा विपक्षी गठबन्धनको थियो ।