काठमाडौँ, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री बन्नका लागि आफू प्रयासरत रहेको बताउनुभएको छ । शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रतिनिधिसभामा ठुलो दलको नेताका हैसियतले आफूलाई बहुमत जुटाउन सहज हुने ठान्दै उपधारा ५ बमोजिम सरकारको नेतृत्वका लागि दावी गर्ने योजनामा रहेको बताउनुभयो ।
यसका लागि आफूले दलहरूसँग सहयोग मागेको पनि उहाँले जनाउनुभयो । दलहरुले यसअघि राष्ट्रपतिबाट उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान हुँदा दावी पेश गर्न नसकेको र अढाई महिनासम्म पनि आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नसकेको जिकिर गर्दै उनले अझै पनि विकल्प दिन सक्ने हो भने मौका रहेको प्रस्ट पार्नुभयो । ‘आफूले बनाउन नसक्ने हो भने मलाई समर्थन गर्नुस् भनेको छु,’ उनले भने, ‘प्रतिनिधिसभालाई जोगाऔँ भन्ने नै मेरो उद्देश्य हो ।’
उहाँले यसअघि प्रतिनिधिसभा विघटन गर्ने आफ्नो निर्णय सर्वोच्चले खारेज गरिदिएको स्मरण गराउँदै त्यसतर्फ फेरि जानु नपरोस् भनेर प्रयासरत रहेको बताउनुभयो । ‘प्रतिनिधिसभा विघटन भनेपछि अस्ति नै थुतुनो पोलेको मान्छे म,’ उहाँले भन्नुभयो, ‘त्यसैले आउनुस्, मलाई समर्थन गर्नुस् भनेर दलहरूलाई भन्न चाहन्छु ।’