खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले कोभिड–१९ को संक्रमणबाट गम्भीर अवस्थामा पुगेका संक्रमितलाई अस्पताल लैजानका लागि निःशुल्क हेलीकोप्टरको व्यवस्था गर्न माग गर्नु भएको छ ।
कोभिड–१९ को संक्रमणका कारण सिकिस्त अवस्थामा पुगेका संक्रमितले कम्तीमा साँढे तीन लाखमा हेलीकोप्टर चार्ट गर्न बाध्य भएको भन्दै मेयर रिजालले तत्काल अस्पताल पु¥याउनुपर्ने र भेन्टिलेटरमा राख्नपर्ने अवस्थाका संक्रमितलाई सुविधा सम्पन्न अस्पतालमा पु¥याउनका लागि सरकार समक्ष निःशुल्क हेलीकोप्टर सेवाको व्यवस्था गर्न माग गर्नु भएको हो ।
आइतबार प्रधानमन्त्रीलाई पत्र पठाउँदै मेयर रिजालले जिल्लाबाट अन्यत्रका अस्पतालमा जानका लागि हेलीकोप्टर चार्टर शुल्क अत्याधिक महंगो भएकाले क्रिटिकल अवस्थाका बिरामीलाई निःशुल्क हेलीकोप्टरको व्यवस्था गरिदिन अनुरोध गर्नु भएको हो । गम्भीर अवस्थाका बिरामी बोक्नका लागि ‘नम्स’ बनाएर संघीय सरकार वा प्रदेश सरकारमार्फत निःशुल्क हेलीकोप्टर चार्टरको व्यवस्थाका लागि आग्रह गरिएको मेयर रिजालले बताउनु भयो ।
गत जेठ १५ गते मात्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ७८ वर्षीय संक्रमित वृद्धालाई ३ लाख ५० हजारमा हेलीकोप्टर चार्टर गरेर काठ्माण्डौं लगिएको छ । यस्तै, जेठ १० गते दिक्तेलका ६४ वर्षका पुरुषलाई ३ लाख ५० हजारमा र गत जेठ ५ गते ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका एकै परिवारका तीन संक्रमितलाई ३ लाख २० हजारमा हेलीकोप्टर चार्टर गरेर काठ्माण्डौं लगिएको थियो ।
अस्पताल पुग्नका लागि हेलीकोप्टर चार्टर गर्ने आर्थिक अवस्था सवै संक्रमितको नभएकाले निशुल्क हेलीकोप्टर ब्यबस्थाको लागि सरकार सगँ माग गरिएको मेयर रिजालको भनाई छ ।
सामान्य लक्षणमा होम आईसोलेशनमा बसेका संक्रमित पछि स्वास्थ्यमा जटिल समस्या आउने र हेलीकोप्टर चार्टर गर्नुपर्ने अवस्था आउने त्रासमा धमाधम काठमाण्डौं, बिराटनगर लगायतका अस्पतालमा जान थालेकाले सरकार समक्ष निःशुल्क हेलीकोप्टर सेवाको माग गरिएको मेयर रिजालले बताउनु भयो ।
भविष्यमा स्वास्थ्यमा समस्या आउने र हेलीकोप्टर चार्टर गर्नुपर्ने त्रासमा नगरपालिकाका संक्रमित पहिल्यै अस्पताल पुग्न बाध्य छन् । हालसम्म ८ जना संक्रमितलाई नगरपालिकाकै गाडीमा हालेर अस्पतालमा पु¥याइएका मध्ये तीन जना निको भएर फर्किसकेको मेयर रिजालले बताउनु भयो ।