हलेसी खबर खोटाङ । कास्कीमा बिरामी बोकेको एम्बुलेन्समाथी पहिरो खस्दा विरामी वृद्धको मृत्यु भएको छ ।
बिहिबार मादी गाउँपालिका-९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीया गोमा अधिकारीको मृत्यु भएको हो ।
दुर्घटनामा एम्बुलेन्स चालक सुवास अधिकारी घाइते भएको मादी गाउँपालिका प्रमुख वेदबहादुर गुरुङले जानकारी दिनुभयो । गाउँपालिका प्रमुखले भन्नुभयो,‘मध्यपहाडी लोकमार्ग अन्तर्गत बनिरहेको बाटो हो त्यो । खहरे होलामा एक्कासी लेदोसहितको बाढी आएर एम्बुलेन्समाथि परेछ,‘चालकले भागेर ज्यान जोगाए । आमाको घटनास्थलमै मृत्यु भयो ।’ प्रमुख गुरुङका अनुसार घाइते अधिकारीलाई थप उपचारका लागि पोखरा पठाइएको छ । पहिरोले एम्बुलेन्सलाई करिब सय मिटर तल बगाएको उहाँले बताउनुभयो ।