विराटनगर। प्रदेश नंम्बर १ भरीका सहकारी संघसंस्थामा कार्यरत कर्मचारीहरुलाई कोभिडविरुद्धको खोप तत्काल उपलब्ध गराई खोप लगाउन प्रदेश १ सहकारी संघले माग गरेको छ । प्रदेश सहकारी संघका अध्यक्षको नेतृत्वमा शुक्रबार गएको सहकारी अभियानकर्मीले १ नंम्बर प्रदेशकी सामाजिक विकास मन्त्री उषाकला राईलाई उहाँको कार्यकक्षमा भेटेर खोपको उचित प्रबन्ध मिलाउन संघले माग गरेको हो ।
देशभर करिव ३० हजारको संख्यामा रहेका सहकारी संघसंस्थामा ७५ लाखभन्दा बढी नागरिक सदस्यका रुपमा आवद्ध गरेर सेवा प्रवाह गरिरहेको सहकारी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने माग समेत गरिएको छ । प्रदेश १ मा मात्र करिब ५ हजार सहकारी संघसंस्थाहरु रहेको र १० लाख भन्दा बढी व्यक्तिहरु सदस्यका रुपमा आवद्ध रहेको बताउदैँ अध्यक्ष पोखरेलले सो संस्थाहरुमा कार्यरत करिब २२ हजार कर्मचारीहरुलाई तत्काल खोप उपलब्ध गराउन माग गरेका छन् ।
प्रदेश सहकारी संघले प्रकासन गरेको ज्ञापनपत्रमा भनिएको छ,ठूलो संख्यामा रहेका सहकारीका सदस्यहरुलाइ कर्मचारीहरुले जोखिम मोलेर सेवा प्रवाह गर्दै आएको र योभन्दा कम जनसम्पर्कमा हुने क्षेत्रलाई सरकारले अग्रपंक्तिको कार्यमा खटिने भनी खोप दिने गरेको तर, बढी जनसम्पर्कमा रहेका सहकारीका कर्मचारीहरुलाई यसवाट बञ्चित गरिनु अन्याय भएको समेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै सामाजिक विकास मन्त्री उषाकला राईले सहकारीलाई उच्च प्राथमिकतामा राख्दै कोरोना विरुद्धको खोप तत्काल उपलब्ध गराउन आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।