कोरोना विरुद्धको मनोबल उच्च बनाऔँ

Halesi Khabar
0 Shares

–भीम राई
कोरोना भाइरसको प्रकोप जिल्लामा व्यापक बन्दै गएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारका अधिकांश मानिसमा सङ्क्रमणको लक्षण देखा परेको छ । उनीहरु कसैले स्वाब परीक्षण गराएका छन् । कतिले स्वाव परीक्षण गर्नैपनि गएका छैनन् । सबैतिर कोरोना संक्रमण फैलिदै गएको छ । यसमा सबै जसो उमेर समुहका व्यक्तिलाई संक्रमणको लक्षण देखा परेपनि उनिहरुले खुलाउन चाहादैनन् । तर आफै सुरक्षीत तरिकाले होम आईसोलेसनमा बस्ने प्रयासरत रहेको देखिन्छ ।

खास गरेर सङ्क्रमण कसरी बढ्यो ? भन्ने बहसपनि अब गरिरहनु नपर्ने अवस्था भएको छ । जताततै सङ्क्रमितहरु बढेका छन् । निको हुनेको संख्या पनि उत्तिकै रहेको छ । कतिपयले यसलाई सामन्य रुघाखोकीलाई जस्तै पचाई पनि रहेका छन् ।

यद्यपि, उच्च सर्तकताको अभावले सङ्क्रमण फैलिएको छ । सर्तकताको अभाव र न्यूनतम कोरोनाबाट बच्ने स्वास्थ्य सर्तकताको अभावले समेत समस्याहरु बढ्दो छ । कोरोना सङ्क्रमणकै कारणले हाटबजार र पसलहरु बन्द रहेपनि स्थानीय सरकारले सर्वसाधरणका लागि खुला गरेको समयमा भन्दा फाल्टो समयमा व्यापार व्यवसाय सञ्चालन गर्नु यसको कारक बन्न पुगेको अनुमान गर्न सकिन्छ । सङ्क्रमणको जोखिमलाई न्युनिकरण गर्न प्रहरी प्रशासनले गरेको निर्देशनको पालना नर्गदा समस्या आएको हो ।

बजार क्षेत्रमा केही पसलहरु प्रहरीको आँखा छल्नकै लागि माात्र स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँछन् । उनीहरुले प्रहरी प्रशासनसँग लुकामारी खेलेर व्यवसाय संचालन गर्छन् । समस्या यताबाट पनि थपिएका छन् । जिल्लामा खुलेका कोभिड अस्पतालहरुमा विरामी कममात्र गएका छन् । गएपछि पनि उनीहरुले तोकिएको समयसिमासम्म अस्पतालमा आईसोलेट नहुँदा थप समस्याहरु देखिए ।

भर्खरै हलेसी तुवाचुङ नगरपालिकामा स्थानीय दलित नेता शुक्र विश्वकर्माको कोभिडका कारण मृत्यु हुन पुग्यो । उनको दुःखद निधन कोरोना पोजेटिभ भएकै कारणले हो भन्ने सबैतिर प्रचार पनि भएको छ । उनी गएको असार ९ गते स्थानीय कोभिड अस्पतालमा भर्ना भएका थिए ।

कोराना सङ्क्रमणको परीक्षण गर्दा पोजेटिभ देखिएका उनी अस्पतालमा १४ गतेसम्म बसे । आफूलाई केही सुधार भएको आभास भएपछि शुक्रले आफै घर जाने भन्दै अस्पतालमा आग्रह गरे । उनी आफैले म घर जान्छु । घरमै होम आईसोलेसनमा बस्छु भनेपछि उनलाई अस्पतालले पनि १४ गते बेलुकी नै घर पठायो ।

उनी रातभर ठिकै थिए । तर १५ गते बिहान एक्कासी छातीमा समस्या भएको भन्दै पुनः अस्पताल फर्किए । उनी बिरामी त थिए नै यद्यपि उनको घरबाट अस्पतालसम्म उनी आफैले मोटरसाईकल चलाएर अस्पताल पुगे । अस्पतालमा पुगेपछि उनलाई पुनः उपचारको विधि शुरु गरियो र वेडमा बस्न सुझाइयो । तर, उनलाई निकै नै सारो पारिसकेको स्वास्थ्यकर्मीले सुझाए । थप उपचारका लागि सुविधा सम्पन्न ठाउँमा लैजान समेत डाक्टरले भने । सबैले आ–आफ्नो ठाउँमा उपचारका लागि व्यवस्थापन गर्न कोशिस गरे । स्थानीय युवक सर्वधन बस्नेत, सम्बर बहादुर भुजेल लगायतका टोली सँगै अस्पताल पुगिसकेका थिए ।

यतातिर कसैले हेलिकप्टरको व्यवस्था गर्न काठमाडौतिर फोन सम्पर्क गर्ने, कसैले गाडीको व्यवस्था गर्न प्रयासरत रहँदा रहँदै विकलाई व्याथाले सारो बनायो । उनलाई अक्सिजनको मात्र बढाउनका लागि स्वास्थ्यकर्मीहरुले आफ्नो स्रोत साधन र बुत्ताले भ्याउने प्रयास गर्दा गर्दै उनको दुःखद निधन भयो ।

हलेसी तुवाचुङ नगरपालिका ७ मा जन्मेका शुक्र विक स्थानीय दलित अभियान्ता थिए । उनी नेपाल कम्युनिष्ट पार्टी एमालेका जिल्ला कमिटिका सदस्य हुन् । यो सँगै नेपाल उत्पिडित जातीय मुक्ति समाजका जिल्ला अध्यक्ष समेत रहेका विकको थप उपचारका लागि शुरु भएका सारा प्रयासहरु एकैछिनमा चकनाचुर भयो । बेलैमा आवश्यक सावधानी अपनाउन नसक्दा उनको ज्यान गयो ।

उनी ९ गते अस्पताल भर्ना भएर पुरै समय अस्पतालको आईसोलेसनमा नबस्नु गल्ति थियो । यदि उनी अस्पतालमै हुँदा हुन त उनको उपचारमा स्वास्थ्यकर्मीहले केही न केही उपायहरु खोज्थे होला । बेलैमा अवस्था जटिल भएको कुरा जानकरी दिएर थप उपचारकालागि कतै लैजान सक्ने समय पाइन्थ्यो होला । तर, त्यो अवसरबाट सबैलाई उनले बञ्चित गराए । कोभिड – १९ सामन्य हो पचाईन्छ भन्ने हाम्रो आम मानिसको सोचले विकिजीलाई पनि घर गर्दा समस्या जटिल बन्यो ।

घटनापछि सबैतिर शोकले छायो । स्वभाविक हिसाबले मानवीय संवेदनाको आवाजहरु सबैतिर बाट आयो । पीडा त भोग्नेलाई न थाहा हुन्छ । विक परिवारमा पनि त्यस्तै परेको छ । यसबीचमा प्रश्नहरु उठाउन पनि थालियो । विकको मृत्यु स्वास्थ्यकर्मीको लापार्वाहीले भएको आरोप पनि लागेको छ ।

कोरोना पोजेटिभ भएको व्यक्तिलाई पुरा समयअवधि आईसोलेशनमा राखेर उपचार गर्नुपर्नेमा बीचमै घर पठाएर अस्पतालले गम्भिर भुल गरेको गुनासो आउन थाल्यो । यसका बारेमा राम दंगाल नेतृत्वको नेकपा एमाले जिल्ला कमिटि खोटाङले विज्ञप्ति निकालेर छानविनको माग गर्दै दोषी उपर सजायको माग ग¥यो । यस्तै आन्तरिक हिसाबले एमाले आफैले पनि छानविन गर्ने घोषणा ग¥यो । नेपाल उत्पिडीत जातीय मुक्ति समाज खोटाङ समेत विज्ञप्ति निकाल्यो । अहिले एमालेले आफुले भनेजसरी आन्तरिक छानविन गरिरहेको छ कि छैन । पछि रिर्पोट आएपछि नै थाहा होला ।

यस्तो विषम परिस्थितीमा स्वास्थ्य र सुरक्षाको विषयमा गम्भिर हुन नसक्दा समस्या आउन थालेको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्थानीय भुगोलहरुमा खटिरहेका जनप्रतिनिधि या अभियानकर्ताहरुलाई यो विषयले निकै सोचमग्न बनाएको हुनुपर्दछ । किन कि हरदम विरामी तथा सङ्क्रमितहरुको अगाडि बसेर काम गरिरहेका उनीहरुले हिनताबोध गर्ने वातावरण बन्न सक्दछ ।

कार्यक्षमतामाथि प्रश्न उठाउँदा वास्तविकतामा आधारित हुन नसक्नुले समस्या आउन सक्दछ । काम गर्ने मनोवल गिराउन थालियो भने समस्या यो मात्र होइन अझ जटिल बन्ने छ । विशेष गरेर यो कुरा सरकार तथा राजनीतिक दलका नेताहरुले ध्यान दिनु पर्ने विषय हुन् । सबैले मनोबल उच्च बनाउन सहयोग गरौँ ।

तपाईको प्रतिक्रिया