हलेसी खबर सम्वाददाता
खोटाङ,२५ असार । नेपाली कांग्रेस खोटाङले आफ्नो अधिवेशनलाई सफल बनाउन विभिन्न जिम्मेवारी बाँडफाँड गरेको छ । कांग्रेसले आसन्न सातौं जिल्ला अधिवेशन सफल बनाउन बिहिबार जिम्मेवारी बाँडफाँड गरेको हो ।
विपी स्मृति भवन दिक्तेलमा बिहीबार बसेको बैठकले अधिवेशनलाई भव्य र सभ्य रुपमा सफल बनाउन प्रचार प्रसार समिति, आर्थिक व्यवस्थापन, आवास तथा स्वंयमसेवक परिचालन लगायतका क्षेत्रमा काम गर्न समिति बिस्तार गरेको हो। बैठकले अधिवेशनको लागि प्रचार-प्रसार समितिमा कांग्रेस प्रचार विभाग प्रमुख सुमन आचार्यको नेतृत्वमा भातृ तथा सुभेच्छुक संस्थाका प्रमुख रहने गरि पाँच सदस्यीय समितिको निर्माण गरेको छ ।
यस्तै, अधिवेशन समिति जिल्ला सभापति नरेश कुमार श्रेष्ठको संयोजकत्वमा, आर्थिक समिति उपसभापति धर्मराज पोख्रेलको संयोजकत्वमा, आवास व्यवस्थापन समिति जिल्ला सदस्य तथा अनुसाशन विभागका संयोजक प्रकाश कुमार श्रेष्ठको संयोजकत्वमा र स्वंयसेवक परिचालन समिति नेपाल तरुण दलका सभापति भिषण राईको संयोजकत्वमा तथा नेपाल विद्यार्थी संघका सभापति राजकुमार बस्नेतको उपसंयोजकत्वमा रहने गरि जिम्मेवारी बाँडफाँड गरिएको कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशीले प्रभाव न्यूजलाई जानकारी दिए । काँग्रेसको १४औं महाधिवेशन सन्निकट छ । यस्तै वडा,गाउँपालिका र जिल्ला अधिवेशन नजिकिदै गएको छ । अधिवेशनमा उम्मेदवार बन्न चाहने आकाँक्षीहरू पनि धमाधम खुल्न थालेका छन्।
खोटाङमा जिल्ला सभापतिको जिम्मेवारी संहाल्न केही नेता दौडधुपमा रहेको देखिन्छ। अहिलेसम्म जिल्ला सभापतिकै भूमिकामा रहेका नरेश कुमार श्रेष्ठ पूनः सभापति दोहोर्याउने तयारीमा जुटेका छन् ।यस्तै, पूर्व मन्त्री तथा नेता सर्वधन राई, पूर्व सभापति तथा महासमिति सदस्य सुवासकुमार पोख्रेलको पनि इच्चा रहेको एक स्रोतले बताएको छ । प्रदेश (क) का क्षेत्रीय सभापति इवन राईको पनि इच्छा रहेको बुझिएको छ। प्रदेश (ख) का क्षेत्रीय सभापति तीर्थराज भट्टराई जिल्ला सभापति बन्न लामो समयदेखी दौडधुपमा रहेको देखिन्छ । महाधिवेशन प्रतिनिधि तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भुपेन्द्र राई पनि सभापतिमा लड्ने दाउमा रहेको स्रोतले जानकारी दिएको छ । स्रोतले भन्यो, सुवासजी, सर्वधनजी, इवनजी र भुपेन्द्रजीले आधिकारीकरुपमा सभापति लड्छु भन्नुभएको छैन् । हल्लामात्र आएको हो । पछि उहाँहरुले नै आधिकारीक घोषणा गर्नुहुन्छ होला । त्यो पछि नै थाहा हुने कुरा हो ।
तथापि, जिल्ला सभापतिमा अझै आकाँक्षी थपिन सक्ने तथा अहिले सभापति बन्नको लागि कसरत गर्ने व्यक्ति सबै सभापतिका उम्मेद्धार नबन्न सक्छन् । परिस्थिति हेरेर नेताले के मा लड्दा उचित होला भनेर निणर्य गर्न भने बाँकी नै रहेकाले यसै भन्न नसकिने अवस्था देखिएको छ ।