खोटाङ,२९ असार । प्रदेश नम्बर -१ सरकारले जिल्ला अस्पताल खोटाङलाई फुल्ली अटोमेटिक बायोकेमेष्ट्रि एनालाईजर मेसिन हस्तान्तरण गरेको छ । सोमबार सामाजिक विकास मन्त्री उषाकला राईले जिल्ला अस्पताल खोटाङका ल्याव टेक्निसियन शेखर अधिकारीलाई उक्त मेसिन हस्तान्तरण गर्नुभएको हो ।
प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र, विराटनगरले खरिद गरेको उक्त मेसिन जिल्ला अस्पताललाई एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो । जिल्ला अस्पतालाई हस्तानतरण गरिएको मेसिनले एक घण्टामा साढे ३ सय नमूना परीक्षण गर्ने प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रका प्रमुख सम्भु साहले बताउनुभयो । साहका अनुसार,“एकै पटकमा ७२ वटा नमूनाहरु राख्न सकिने छ ।,“फुल्ली अटोमेटिक बायोकेमेष्ट्रि एनालाईजर मेसिनको बजार मुल्य करिव ३५ लाख सम्म पर्ने छ ।”
सामाजिक विकास मन्त्री राईले जिल्ला अस्पताललाई आवश्यकता आधारमा स्वास्थ्य उपकरणहरु प्रदेश सरकारले प्रदान गर्दै जाने समेत बताउनुभयो । जिल्ला अस्पताल खोटाङका ल्याव टेक्निसियन अधिकारीले परीक्षणमा सहज हुने र उपचारमा पनि समेत सरलता आउने बताउनुभयो ।
यसअघि जिल्ला अस्पतालमा अत्यधिक विरामीको चाप रहेकाले सुगर, लिभर फङ्सनलगायतको परीक्षणमा समस्या हुँदै आएको थियो ।