–भीम राई
नेपाली काँग्रेसको आसन्न १४ औँ राष्ट्रिय महाधिवेशनको मिति लगभग सर्ने निश्चित भएको छ । काँग्रेसले आफ्नो महाधिवेशनको प्रवेशद्धारका रुपमा तोकिएको वडा अधिवेशनको मिति गुज्रिएको छ । साउन १२ गते देशभर एकैसाथ वडा अधिवेशन गर्ने घोषणा गरेको काँग्रेसमा अन्तिम समयमा आएर स्थगन हुनुले महाधिवेशन अनिश्चित भएको छ ।
यद्यपि, नेपाली काँग्रेसका अथिति नेता तथा कार्यकर्ताहरुले भने सबै आफ्नो भूगोलमा फर्कने सुनौलो मौका पाएका छन् । उनीहरु आफ्नो नेताहरुको एउटा एउटा फेरो समातेर गृह जिल्लामात्र होइन आफ्नो क्रियाशील सदस्यता रहेको टोलबस्तीमै घुम्न आइपुगेका छन् ।
यहि मेसोलाई समातेर खोटाङ जिल्लाका अग्रज पत्रकार तथा नेपाली काँग्रेसका शुभचिन्तक कृष्ण आचार्यले सामाजिक सञ्जाल फेसबुक पेजमा चसक्क घोच्नेगरी एउटा भित्तेलेखन लेखे । ‘माइती आउनुभएका खोटाङ काँग्रेसका सबै सबै चेलीहरुलाई हार्दिक स्वागत छ । कोशेली÷सिसार मुताविक दक्षिणा उपलब्ध हुने छ ।’ यसले नेपाली काँग्रेसको महाधिवेशनमा को कस्ता नेताहरु जिल्ला आए र उनीहरुको अपेक्षा के होला भन्नेबारेमा समेत अनुमान लाउन सकिन्छ ।
काँग्रेस खोटाङको राजनीतिमा निकै अगाडिदेखिका घाउहरु ताजा छन् । कोही ती घाउ पुर्न चाहान्छन् । कोही त्यो घाउलाई जस्ताको त्यस्तै फर्काएर थला बसाउन चाहान्छन् । यीनै चाहानाहरुको बीचमा अहिले काँग्रेस खोटाङको राजग्रह चलिरहेको बेला एक्कासी महाधिवेशन रोकिएकामा केही नेता तथा कार्यकर्ताहरुलाई भने हाइसन्चो पनि भइरहेको सोझो अनुमान लाउन सकिन्छ ।
खास गरेर अहिले काँग्रेसमा वडा अधिवेशन हुँदै क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन भएर जिल्लाको नेतृत्व छनोट गर्ने विधि छ । यो विधिमार्फत काँग्रेसको जिल्ला नेतृत्व र प्रदेश र केन्द्रीय नेतृत्वको बाटो खुल्छ । यो बाटोमा प्रतिस्पर्धा गर्न काँग्रेसको केन्द्रीय नेता नै किन नहोस उसले वडाबाट निर्वाचित हुनैपर्ने प्रावधान रहेकाले पनि यो समय काँग्रेस पार्टीमा क्रियाशील सदस्यहरुको लागि पुनर्जागरण्को समय हो । यो समयमा खोटाङबाट बाहिरिएर काँग्रेसको राजनीतिमा क्रियाशील नेता कार्यकर्ताहरु खोटाङ आएका बखत पत्रकार कृष्ण आचार्यको लेखाइले दनक दिएको छ ।
आफूलाई नेपालमा लोकतन्त्रको जननी संस्थाको रुपमा प्रस्ट्याउने पार्टीले पार्टी जीवनमा लोकतन्त्रको उच्चतम विधि अपनाउन गर्न लागेको यस अभियानमा जिल्लामा माइती आउने काँग्रेस जनले के के कोशेली बोकेर आएका होलान ? जिज्ञासा बढेको छ । महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, जिल्ला सभापति, क्षेत्रीय सभापतिजस्ता पदहरुको लागि कोशेली÷सिसार त अवश्य बोकी आएका नै होलान् ! तर, त्यही अनुसारको दक्षिणा दिन खास खोटाङ काँग्रेसका क्रियाशील सदस्यहरु तयार होलान त ?
जिल्लामा चर्चामा आएका अथिति काँग्रेस र जिल्लामै कुरेर बस्ने काँग्रेसको बीचमा ठुलै प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ । यसमा पहिल्यै काँग्रेसले गलहत्याएर पठाएका खोटाङका पूर्व सांसद एवम् नेपाल सरकारका पूर्वराज्यमन्त्री सर्वधन राईको शिसार यसपाली निक्कै आएको हल्ला छ । यसमा माइतीघर कुर्ने तीर्थराज भट्टराईहरुले के कसो गर्लान् ? चासोका साथ हेरिएको छ । विशेष गरेर काँग्रेसको राजनीतिमा अंशवण्डामा निकै ठुलो लफडा पर्ने गरेको छ । यसपाली संस्थापन पक्ष, पौडेल पक्ष, कोइराला पक्ष र सिटौला पक्षबीच हुने अंशबण्डाले निकै ठुलो रुप लिने सम्भावना छ ।
चर्चामा आएका वर्तमान सभापति नरेशकुमार श्रेष्ठ, पूर्वमन्त्री राई, महाधिवेशन प्रतिनिधि वीरकाजी राई, अर्का महाधिवेशन प्रतिनिधि भूपेन्द्रकुमार राई, क्षेत्रीय सभापतिहरु (क) इवन राई र (ख) तीर्थराज भट्टराईले जिल्ला सभापतिको कुर्सी हत्याउने दौडमा खुट्टा उचालेको सुनिएको छ । यसबाहेक काँग्रेसको राजनीतिमा के हुन्छ भन्ने कुनै टुङ्गो लाग्दैन । अहिले उनीहरु आफ्नो तरिकाले दौडमा सामेल छन् । यसकै लागि कतिपय नेता बाहिरी जिल्लाबाट सिसार बोकेर खोटाङ छिरेका हुन् ।
यो बेला काँग्रेसभित्र धमिलो पानीमा माछा मार्ने केही नेताहरुको चलखेल बढेको छ । काँग्रेसमा अहिले एकले अर्कालाई सम्मान गर्नेदेखि खुइल्याउनेसम्मको खेतीको सिजन भएकाले उनीहरु सकेसम्म दुवै काममा क्रियाशील छन् । क्रियाशील सदस्यहरुलाई आफ्नो पक्षमा आकर्षित गर्न आफ्नै महासमिति सदस्य तथा पालिका प्रमुखको विरुद्धमा वक्तव्यबाजी गर्न थालेका छन् । कोही घुँडामा प्रेस विज्ञप्ति लेखेर नेता हुन खोजेको आरोप लगाउँदै छन् । कोही हिजो २०७० को संविधानसभाको चुनावमा एमालेलाई दिएको सापटी भोटको हिसाब किताबमा जुटेका छन् । कोही भने बिगतलाई होइन वर्तमानलाई सम्हालेर जानुपर्नेमा जोड दिइरहेका छन् ।
हुन त काँग्रेस पार्टी लोकतन्त्रलाई अतिनै मान्ने पार्टी पनि हो । यो सबै काँग्रेस नेता तथा कार्यकर्ताले भन्दै आएका कुरा हुन् । उनीहरुबीचमा अन्तरघात भन्ने कुरा लोकतान्त्रिक अभ्यास हो । यसको नमूना हेर्न टाढा गइरहनु पर्दैन । खोटाङकै पेरीफेरीमा भएका अभ्यासहरुलाई हेरे पुग्छ । तर, यसपाली भने निक्कै टेसिलो खेल काँग्रेस खोटाङमा देख्न पाइने सङ्केतहरु मिलेको छ ।
कृष्ण दाइकै कुरालाई जोडेर भनुङ खोटाङमा माइत आउने काँग्रेसलेमात्र सिसार अनुसार दक्षिणा पाउने हुन् कि ? पराइघर नगइ माइतीघर नै आफ्नो ठानेर निरन्तर खोटाङ बस्ने काँग्रेसले दक्षिणा पाउँछन् ? हेर्न बाँकी छ ,
नेताहरु क्रियाशील सदस्यहरुको घरदैलामा सिसार बोकेर त पुगिनै सके । कार्यकर्ताहरुबाट दक्षिणा भने कस्ले कति पाउँलान् हेर्न बाँकी नै छ । आखिर जो भएपनि पाहुना न हुन् ! घरमुलीले दक्षिणा त दिनै पर्ला नि कि कसो ?