दिक्तेल रुपाकोट मझुवागढीका एघारवटै नवनिर्मित वडा कार्यालय भवन गुणस्तरहीन

Halesi Khabar
0 Shares

खोटाङ, १४ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सबै नवनिर्मित वडा कार्यालय भवन गुणस्तरहीन भएको छ । पन्ध्र वडा रहेको यस नगरपालिकामा गत आर्थिक वर्ष पहिलो चरण अन्तरगत ११ वडामा भूकम्पप्रतिरोधी एकै किसिमको सुविधायुक्त पक्की वडा कार्यालय भवन निर्माण शुरु गरेको थियो ।

प्रति वडा कार्यालय भवनका लागि रु ६५ लाखका दरले नगरपालिकाको बजेट लगानी रहेको नवनिर्मित वडा कार्यालय भवन प्रयोगमा नआउँदै चुहिएको वडाध्यक्षहरुले बताएका छन् । भवन निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीका प्रतिनिधिको लापरवाहीका कारण नवनिर्मित वडा कार्यालय भवनहरु गुणस्तरहीन भएको उनीहरुको दाबी छ ।

सबैभन्दा पहिले वडा नं. १२ जालपा र वडा नं. १३ नुनथलाको वडा कार्यालय भवन निर्माण सम्पन्न भएर सञ्चालनमा आएको थियो । अहिले उक्त दुवै वडा कार्यालय भवन चुहिएर बस्न नहुने अवस्थामा रहेको वडाध्यक्षहरुले बताएका छन् ।

यतिसम्म कि नुनथलाको वडा कार्यालय भवनको ढलानबाट वर्षादको पानी चुहिएर कार्यालयको महत्वपूण कागजात तथा कम्प्युटरसमेत बिग्रिएको पाइएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न बन्द गरिएको वडा कार्यालय भवनको ढलान गरिएको छतबाट वर्षादको पानी चुहिएर कार्यालयको कागजात तथा कम्प्युटर कामै नलाग्नेगरी बिग्रिएको वडाध्यक्ष भीम राईले बताउनुभयो ।

नुनथला, जालपा र वडा नं. १५ विजयखर्कको वडा कार्यालय भवन प्रकाश थापा सञ्चालक रहेको सजिव निर्माण सेवा कम्पनीले ठेक्का पारेको थियो । नुनथला र जालपाको वडा कार्यालय भवन नुनथलाका युवा व्यवसायी प्रकाश नाछिरिङले तथा विजयखर्कको वडा कार्यालय भवन दिक्तेलका लालु विश्वकर्माले जिम्मा लिएर निर्माण गरेका थिए ।

यस्तै गत चैत–२ गते औपचारिक उद्घाटन गरेर सञ्चालनमा ल्याइएको विजयखर्कको वडा कार्यालय भवनसमेत चुहिएर काम गर्न असहज भएको वडाध्यक्ष वीरेन्द्र ढकालले बताउनुभयो । “ठेकेदारको लापरवाहीले वडा कार्यालय भवनको छतमा राखिएको रेलिङसमेत बाङ्गिएको छ”, उहाँले भन्नुभयो, “ढलान चुहिएर बस्नै नहुने भएपछि कोरामसिना (सिमेन्ट र बालुवा) घोलेर लगाउँदा पनि चुहिन छाडेको छैन ।”

ठेकेदारको लापरवाहीले वडा कार्यालयमा जडान गरेको विद्युतसमेत फल्ट रहेको र एक महिनाको विद्युत महशुलमात्रै रु २० हजार २०० उठेको जालपाका वडाध्यक्ष विकास राईले बताउनुभयो । “वर्षदिनका लागि वडाबाट छुट्ट्याइएको विद्युत महशुल शीर्षको बजेट एउटै महिनामा सकिएपछि अहिले वडा कार्यालयमा विद्युत नै बन्द गरिएको छ”, उहाँले भन्नुभयो, “यस विषयमा सम्बन्धित निकायले ध्यान दिएर तत्काल ठेकेदार कम्पनीमाथि कारवाहीको प्रक्रिया अगाडि बढाउनुपर्छ ।”

वडा नं. १० पाथेका र वडा नं. ११ खार्मीको वडा कार्यालय निर्माणको जिम्मा दिक्तेलका जोसफ रिजाल प्रबन्धक रहेको मोहन एण्ड बेँसीगाउँ निर्माण कम्पनीले लिएको थियो । निर्माणको काम अझै बाँकी रहेको खार्मीको वडा कार्यालय भवन प्रयोगमा नआउँदै चुहिएको वडाध्यक्ष रामचन्द्र राईले जानकारी दिनुभयो ।

यस्तै वडा नं. १ दिक्तेल, वडा नं. २ सोल्मा र वडा नं. ४ खाल्लेको भवन निर्माणको जिम्मा पिआर कन्ट्रक्शन प्रा.लि. र इन्द्रलक्ष्मी निर्माण सेवा कम्पनी जेभीले लिएका छन् । सोल्मामा निर्माण गरिएको वडा कार्यालय वडा वडाध्यक्ष हर्कबहादुर खत्री र स्थानीय बासिन्दाबीचको बिबादका कारण निर्माण सम्पन्न भएपनि सञ्चालनमा आएको छैन ।

वडा नं. ७, दोर्पा चिउरीडाँडा, वडा नं. ८ दोर्पा बुवालुङ र वडा नं. ९ निर्मलीडाँडाको वडा कार्यालय भवन एमाले नेता दिलचक्र राई र निर्माण व्यवसायी कर्ण खत्री प्रबन्धक रहेको दोर्पा कन्ट्रक्शन प्रा.लि. र रुजन के निर्माण सेवा जेभीले निर्माणको जिम्मा लिएको छ । वडा नं. ७ र ८ को भवन निर्माण सम्पन्न भएपनि थपिएको म्यादसमेत गत असार मसान्तमै सकिएर यतिका दिन बितिसक्दा पनि निर्मलीडाँडामा निर्माणाधीन वडा कार्यालय भवनको ढलान गर्न पनि बाँकी नै रहेको स्थानीय बासिन्दा एवम् नेकपा (माओवादी केन्द्र)का युवा नेता मिलनचन्द्र राईले जानकारी दिनुभयो ।

नगरपालिकाको लगानीमा निर्माण गरिएका वडा कार्यालय भवन कर्मचारी दरबन्दी अनुसार सानो र गुणस्तरहीन भएको वडा नं. १ का वडाध्यक्ष टंकप्रसाद आचार्यले बताउनुभयो । “ठेकेदार कम्पनीले निर्माणको काम सम्पन्न गरेपनि पानी चुहिएका कारण हामीले जिम्मा लिएका छैनौँ”, उहाँले भन्नुभयो, “वडा कार्यालय निर्माण गरिएको ठाउँभन्दा अगाडिको भागमा पहिरोसमेत गएकाले अहिले त्रिपालले ढाकेर राखिएको छ ।”

बाहिरबाट झट्ट हेर्दा आकर्षक देखिन्छ तर, कार्यालय भवनभित्र पस्दा सिमेन्ट, बालुवा र फलामे रडले ढलान गरिएका ठाउँबाट चुहिएको पानी जलमग्न भएको विषयमा आफूहरुले पटक–पटक कुरा उठाउँदा समेत सम्बन्धित पक्षले चासो नदिएको वडाध्यक्षहरुले आरोप लगाएका छन् । नगरपालिकाले उपलब्ध गराएको स्टिमेट तथा निर्माण सामग्री प्रयोग गरेर प्राविधिककै उपस्थितिमा भवन निर्माण गरिएकाले आफूहरुको कुनै कमजोरी नरहेको पिआर कन्ट्रक्शन प्रा.लि.का प्रबन्धक एवम् निर्माण व्यवसायी सङ्घ खोटाङका अध्यक्ष रमेश पौडेल ‘दिनेश’ले दाबी गर्नुभयो ।

सबै वडा कार्यालय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको र सम्पन्न गर्न बाँकी भवन निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीलाई जम्मा विनियोजित बजेटको दश प्रतिशत दैनिक जरिवाना लिएर काम गराइरहेको नगरप्रमुख दीपनारायण रिजालले जानकारी दिनुभयो । “वडा कार्यालय भवन निर्माणमा ठेकेदारको तर्फबाट कमजोरी भएको छ भन्ने हामीलाई पनि लागेको । गुणस्तरहीन काम भएका ठाउँमा वर्षदिनसम्म सच्याउने समय हुन्छ”, उहाँले भन्नुभयो, “वर्षदिनभित्र पनि ठेकेदार कम्पनीले नसच्याएमा उनीहरुले राखेको धरौटी रकम जफत गर्नुका साथै सम्बन्धित निर्माण कम्पनीको फर्मलाई कालोसूचिमा राखेर अर्को वर्षदेखि काम नपाउनेगरी कारवाही गरिन्छ ।”

स्थानीय तहको निर्वाचनमार्फत नगरपालिकामा निर्वाचित भएर आएका जनप्रतिनिधिले बनाएको पाँच वर्षे आवधिक योजनामा उल्लेख अनुसार हरेक वडाको आफ्नै पक्की भवन निर्माणको काम अघि बढाइएको थियो । करीब १०० जना अट्ने सभाहल, वडाध्यक्ष, वडा सचिव र वडा कार्य समितिका सदस्य तथा कर्मचारी बस्ने चार कोठा भएको एकतले भवन निर्माणको काम शुरु गरिएको हो ।

नगरपालिकाको लगानीमा निर्माण शुरु गरिएको वडा कार्यालय भवन गुणस्तरहीन भएपछि ठेकेदार कम्पनीको चौतर्फी आलोचना भएको छ । वडा नम्बर–३ बाम्राङ, वडा नम्बर–५ लफ्याङ, वडा नम्बर–६ नेर्पा र वडा नम्बर–१४ बुइपामा भने पहिल्यै सुविधा सम्पन्न भवन सञ्चालनमा रहेका छन् ।

चार भागमा विभाजन गरेर निर्माण शुरु गरिएको ११ वटा वडा कार्यालय भवनका लागि नगरपालिकाले विभिन्न ठेकेदार कम्पनीसँग रु छ करोड ३८ लाख १८ हजार ३२० मा सम्झौता गरेको नगरपालिकाका लेखा शाखा प्रमुख राजकुमार राईले बताउनुभयो । नगरपालिकाले प्रतिवडा रु ६५ लाखका दरले भाग पर्नेगरी रु सात करोड १५ हजारमा बोलपत्र आव्हान गरेपनि ठेकेदार कम्पनीले घटाघटमा ठेक्का पारेको जनाइएको छ ।

एक नं. प्याकेज अन्तरगत वडा नं. १, २ र ४ का लागि रु एक करोड ७९ लाख ९४ हजार ९४५, दुई नं. प्याकेज अन्तरगत वडा नं. ७, ८ र ९ का लागि रु एक करोड ७६ लाख तीन हजार ४८४, तीन नं. प्याकेज अन्तरगत वडा नं. १० र ११ का लागि रु एक करोड १३ लाख तीन हजार ९४३ र चार नं. प्याकेज अन्तरगत वडा नं. १२, १३ र १५ का लागि रु एक करोड ६८ लाख ८२ हजार ९४६ मा थपिएको म्यादसहित गत असार मसान्तमा सम्पन्न गर्नेगरी सम्झौता गरेको थियो । नगरपालिकासँग सम्झौता गरेर कामको जिम्मा लिएका ठेकेदारले कम मुल्यमा पेटी ठेकेदारलाई भवन निर्माणको काम जिम्मा दिएका कारण गुणस्तरहीन हुनुका साथै तोकिएको समयमा निर्माणको काम सम्पन्न नभएको हो ।

 

तपाईको प्रतिक्रिया