जटिल किसिमका सङ्क्रमित हेलिकोप्टर चार्टर गरेर उपचारमा जान बाध्य

Halesi Khabar
0 Shares

खोटाङ, १७ साउन । दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका एक कोरोना सङ्क्रमितलाई शनिबार रु दुई लाख ८० हजारमा हेलिकप्टर चार्टर गरेर थप उपचारका लागि काठमाडौँ लगियो । सोही दिन बिहान वडा नं.–१ याम्खास्थित अस्थायी कोभिड अस्पताल भर्ना भएर उपचार शुरु गराएका राई थरका उनलाई श्वासप्रस्वासमा समस्या देखिएपछि हेलिकप्टर चार्टर गरेर काठमाडौँ लगिएको हो ।

सङ्क्रमितको अहिले काठमाडौँस्थित अल्का अस्पतालमा भर्ना गरेर उपचार भइरहेको उनका आफन्तले जनाएका छन् । आफन्तका अनुसार सङ्क्रमित राई आफै मोटरसाइकल चलाएर अस्थायी कोभिड अस्पताल पुगेका थिए ।

उनलाई अस्थायी कोभिड अस्पतालमा आएपछि परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ । सङ्क्रमण पुष्टि भएपछि उपचार शुरु गराएका उनलाई एक्कासी श्वासप्रस्वासमा समस्या देखिएपछि आफन्तले हेलिकोप्टर चार्टर गरेर राजधानी काठमाडौँ पठाएको गाउँकार्यपालिका सदस्य अमृत गिरीले बताउनुभयो ।

यसअघि गत असार–२० गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाकी ४४ वर्षीया सङ्क्रमित महिलालाई सोही मुल्य अर्थात रु दुई लाख ८० हजारमा हेलिकोप्टर चार्टर गरेर काठमाडौँ लगिएको थियो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवनमा स्थापना गरेको आइशोलेसन सेन्टरमा भर्ना भएकी महिलाको अक्सिजन कम भएपछि थप उपचारका लागि हेलिकोप्टर चार्टर गरेर अस्पताल पठाइएको हो ।

दश स्थानीय तह रहेको जिल्लामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको अवस्थामा स्वास्थ्यमा गम्भीर समस्या देखिए तत्काल अस्पताल पु¥याउन लाखौँ रकम खर्चिएर हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता छ । बिरामी बोक्ने एम्बुलेन्स वा गाडीको विकल्पमा सङ्क्रमित महङ्गो शुल्क तिरेर हेलिकोप्टर चार्टर गर्न बाध्य छन् ।

केही दिनयता वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खसेकाले सडकबाट बिरामीलाई अस्पताल पु¥याउन सकस छ । कतिपय तत्काल अस्पताल पु¥याउनुपर्ने अवस्थाका बिरामी बोक्न हेलिकोप्टर चार्टर गर्नुको विकल्प नभएको स्थानीय बताउँछन् ।

गत जेठ–५ गतेभन्दा यता मात्र सङ्क्रमितलाई अस्पताल लैजान नौँ पटक हेलिकोप्टर चार्टर भइसकेका छन् । गत असार–८ गते ऐसेलुखर्क गाउँपालिका–३ का ६० वर्षीया सङ्क्रमित वृद्धालाई रु दुई लाख ९५ हजारमा हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको थियो ।

यस्तै, सङ्क्रमण भएपछि आइशोलेसनमा राखिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी एक महिलालाई जेठ–२७ गते रु तीन लाखमा हेलिकोप्टर चार्टर गरेर काठमाडौँ पठाइएको थियो । ऐसेलुखर्क गाउँपालिका–३ कै अर्की सङ्क्रमित महिलालाई जेठ १७ गते काठमाडौँ लैजान रु दुई लाख ९५ हजार खर्चिनुपरेको थियो ।

जेठ–१५ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ७८ वर्षीया सङ्क्रमित वृद्धालाई रु तीन लाख ५० हजारमा हेलिकोप्टर चार्टर गरेर काठमाडौँ लगिएको थियो । यस्तै, जेठ–१० गते दिक्तेलका ६४ वर्षीय पुरुषलाई रु तीन लाख ५० हजार र गत जेठ–५ गते ऐसेलुखर्क गाउँपालिका–३ का एकै परिवारका तीन सङ्क्रमितलाई रु तीन लाख २० हजारमा हेलिकोप्टर चार्टर गरेर काठमाडौँ लगिएको थियो ।

पूर्वी पहाडी जिल्ला खोटाङमा अन्य किसिमका रोग लागेका बिरामी वा दुर्घटनाका घाइतेलाई काठमाडौँ लैजाने क्रममा पनि कम्तिमा रु दुई लाख खर्चेर हेलिकोप्टर चार्टर गर्ने गरिएको छ । आर्थिक अवस्था मजबुत भएका वा ऋणधन गर्न सक्ने बिरामी हेलिकोप्टर चार्टर गरेर अस्पताल पुग्छन् तर, आर्थिक अवस्था कमजोर भएका परिवार उपचारबाट वञ्चित हुनुपर्ने अवस्था रहेको छ ।

हेलिकोप्टर चार्टर गर्न नसक्ने अवस्थाका अधिकांश बिरामी अस्पताल पुग्न नपाउँदै ज्यान गुमाउन बाध्य भएको घटनाहरु समेत सार्वजनिक भएका छन् । आकस्मिक अवस्थामा अस्पताल जानुपर्दा हेलिकोप्टर चार्टर गर्नुपर्ने अवस्था भएकै कारण खोटाङलाई ‘रु दुई लाख सिरानीमा राखेर सुत्नुपर्ने जिल्ला’का रूपमा चिनिन्छ ।

स्वास्थ्यमा जटिल किसिमका समस्या आउने र हेलिकोप्टर चार्टर गर्नुपर्ने अवस्था आउने त्रासमा अधिकांश सङ्क्रमित धमाधम काठमाडौँ, विराटनगर लगायतका सुविधासम्पन्न अस्पतालमा जान थालेकाले नेपाल सरकारसमक्ष निःशुल्क हेलिकोप्टर सेवाको माग गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो । “सङ्क्रमितले हेलिकोप्टर चार्टर गर्नुप¥यो भने कम्तिमा पनि साँढे तीन लाख शुल्क तिरिरहनु परेको छ”, उहाँले भन्नुभयो, “सबैको हेलिकोप्टर चार्टर गर्न सक्ने अवस्था छैन । जिल्लाबाट रेफर भएकामध्ये किसिमका र तत्काल उद्दार गर्नुपर्ने कोभिड सङ्क्रमितका लागि निःशुल्क हेलिकोप्टर व्यवस्था गर्न सरकार समक्ष माग गरिएको हो ।”

जिल्लामा जटिल किसिमका सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जेठ–१६ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीसमक्ष निःशुल्क हेलिकोप्टर सेवाको व्यवस्था गर्न माग गरेको थियो । नगरपालिकाले जिल्ला प्रशासन कार्यालय खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मामार्फत प्रधानमन्त्री ओलीलाई पत्र पठाउँदै निःशुल्क हेलिकोप्टर सेवाको व्यवस्था गर्न माग गरेको हो ।

 

तपाईको प्रतिक्रिया