खोटाङ, २० साउन । कुनै बेला आरनमा फलाम तताएर आकार निकाल्न बुबालाई सघाउने काम हुन्थ्यो गङ्गाबहादुर विश्वकर्माको । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका समशेरबहादुरका कान्छा छोरा हुन् गङ्गाबहादुर ।
बुबाले आरनमा गरेको परिश्रमको कमाइले गङ्गाबहादुरको परिवारको सम्पूर्ण गर्जो टार्नु पर्ने बाध्यता थियो त्यो बेला । कमजोर आर्थिक अवस्थाका परिवारमा जन्मनुभएका गङ्गाबहादुर पनि बुबासँगै कैयौँ पटक फलाम पोल्ने कोइला काट्न जङ्गल जानुपथ्र्याे ।
उसबेला कौयौँ पटक आरनमा हम्मरले फलामको लिहिमा (तताएको फलाम कुट्ने ठाउँ) फलामलाई नै बजार्नुभएको थियो गङ्गाबहादुरले पनि । आरनमा फलाम कुट्दाकुट्दै बितेको थियो गङ्गाबहादुरको बाल्यकाल ।
बाली (काम गरेबापत दिइने अन्न)मा काम गरेर परिवार पाल्दै आएका समशेरबहादुर कामीको कान्छा छोरा गङ्गाबहादुर अहिले खोटाङको उम्दा व्यवसायिक कृषकछ बन्नुभएको छ । आधुनिक तरिकाले व्यवसायिक कृषि खेती गर्न शुरु गर्नुभएका गङ्गाबहादुरले आफूलाई जिल्लामा अहिले नमूना कृषकको रुपमा उभ्याउनुभएको छ ।
आफ्नै बुबाको थातथलो सोल्मामा ‘खोटाङ कृषि फर्म’ खोलेर गङ्गाबहादुरले वार्षिक लाखौँ रकम कमाइ गर्न थाल्नुभएको छ । घर वरिपरि दशवटा प्लास्टिक टनेल बनाउनुभएका गङ्गाबहादुरले सिजन अनुसार विभिन्न किसिमका तरकारी उत्पादन गर्नुहुन्छ ।
पछिल्लो समय हाईटेक प्रविधिसमेत प्रयोग गरेर आफ्नो व्यवसायलाई व्यवस्थित बनाउनुभएका गङ्गाबहादुरलेको कमाइको हिसाबले अहिले निकै राम्रो आम्दानी लिन सक्ने हुनुभएको छ । आरणबाट शुरु भएको बाल्यकाल बिस्तारै स्कूले जीवनमा परिनत भएको थियो गङ्गाबहादुरको ।
बाल्यकालमा बाँसुरी बजाउने, बनाउने, गीत गाउने र नाच्ने शोख थियो उहाँको । हुन त सोल्माको त्यो दलितबस्तीमा तिहारमा मारुनी नाच राम्रै हुने भएकाले पनि उहाँलाई संँगीतको मोह बढेको हो ।
स्कूले जीवन पार गरेपछि गङ्गाबहादुर रेडियोकर्मी बन्नुभयो । जिल्लाको पहिलो र दक्षिण एशिया कै सबैभन्दा धेरै शेयर सदस्य रहेको रुपाकोट सामुदायिक रेडियोमा गङ्गाबहादुरले कृषिको गोरेटो कार्यक्रममार्फत आफ्नो यात्रा अगाडि बढाउनुभएको भयो ।
रेडियोमा कृषिको गोरेटो कार्यक्रम सञ्चालन गर्दागर्दै गङ्गाबहादुरलाई मार्केटिङ (बजार व्यवस्थापन)को भूमिका दिइएको थियो । त्यहिबेलाबाट उहाँको व्यवसायिक सोचको विकास भएकाले विज्ञापन शाखाको समेत जिम्मा लिएर काम गर्नुभयो ।
रेडियोमा कृषिको गोरेटो कार्यक्रम र घरमासमेत सामान्य कृषि कर्ममा उहाँको दिलचस्पी बढ्न थाल्यो । रेडियोमा काम गर्दागर्दै गङ्गाबहादुरले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी सरिता राईसँग अन्तरजातीय विवाहा गर्नुभयो ।
रुढीवादी सोँच बोकेको समाजलाई चुनौति दिएर वैवाहिक बन्धनमा बाँधिएपछि उनीहरुलाई काम गर्ने थप हौसला मिल्यो । विवाह बन्धनमा बाँधिएसँगै गङ्गाबहादुरलाई रेडियोमा निरन्तरता दिन नसक्ने अवस्था सिर्जन भयो ।
आफ्नो कृषि कर्मलाई व्यवसायिक हिसाबले अगाडि बढाउनले गङ्गाबहादुरको सपनाले विस्तारै साकार रुप लियो । कृषि सम्बन्धि विभिन्न पुस्तकहरु पढ्ने जाँगर पहिल्यैदेखि भएका गङ्गाबहादुरले सिटिईभिटिले दिने तालीमहरु लिनुभयो ।
परीक्षामा सहभागी भएर राम्रो ग्रेटमा उत्तिर्ण पनि गर्नुभयो । उहाँसँग सीप त भयो तर, आधुनिक कृषि व्यवसायमा लगानी गर्ने स्रोत भएन ।
वैवाहिक बन्धनमा बाँधिएपछि गङ्गाबहादुर घर परिवार चलाउँदाको आर्थिक बोझले एकचोटी निक्कै अतालिनुभयो । अतालिने क्रममा उहाँ वैदेशिक रोजगारको स्वर्णिम सपना बुन्न थाल्नुभएको थियो ।
आफन्त तथा दाजुभाइहरुलाई गुहारेर उहाँ राहादानी बनाएर काठमाडौँसम्म पुग्नुभयो । काठमाडौँमा उहाँले वैदेशिक रोजगारका बारेमा सम्पूर्ण कुरा बुझ्नुभयो ।
विदेशमा पैसाको खोलानै होला भन्ठान्नुभएका गङ्गाबहादुरको सपना जापानतिर गयो । जापानको लागि प्रकृया पनि अगाडि बढाउनुभयो । लगातार जापान जाने सोँचसहित उहाँले अनेक सपनाहरु बुन्न थाल्नुभयो ।
देशमा सङ्घीयता शुरु भइसकेको थियो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो स्थानीय तहको निर्वाचनको घोषणा भएको थियो । उहाँ गाउँमा फर्केर आफ्नो अधिकारका कुराहरु आफ्ना टोल छिमेकका समुदायहरुसँग बाँड्नुभयो ।
संविधानले सुनिश्चित गरेका कुराहरुलाई सबैसामु पु¥याउने अभियानले उहाँलाई एउटा थप जिम्मेवारी आइलाग्यो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर कार्यपालिका सदस्यमा उहाँ नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित हुनुभयो ।
नगर कार्यपालिका सदस्यमा निर्वाचित भएपछि उहाँको जापान जाने सपनामा ब्रेक लाग्यो ।
करीब ७÷ ८ लाख फसाइसक्नुभएका उहाँको भिसा आउने तयारी थियो ।
जनप्रतिनिधि भएपछि गाउँमा उहाँको कृषि पेशा त छँदै थियो अर्को समाजसेवाको पाटो पनि थपियो । त्यसपछि उहाँ आफ्नो कृषि कर्म र राजनीतिक धर्म तथा समाजसेवाको मर्मलाई मर्न नदिने प्रणका साथ जिल्लामा नै रहेर काम गर्न थाल्नुभएको छ ।
हरेक दिन बिहान ५ बजे उठ्नुहुने गङ्गाबहादुरको लगाबलाई मुल्याङ्कन गर्दै कृषि ज्ञान केन्द्रले खोटाङले फार्म निर्माणका लागि आर्थिक तथा प्राविधिक सहयोगसमेत गरेको छ । उहाँको समय व्यवस्थापनको आफ्नै तरिका छ । बुबाआमा गमाइसक्नुभएका गङ्गाबहादुरको घरमा श्रीमती सरितासँगै एक छोरा र एक छोरी छन् ।
गङ्गाबहादुरले शुरु गर्नुभएको सबै काममा सरिताको सहकार्य छ । बिहान उठेर तरकारी बारीमा जाने, बजारमा जाने समय भएनभएको अवस्था हेर्ने, पाँचवटा बङ्गुर, दुईवटा भैँसीलाई दाना र घाँसको जोहो मिलाउने ।
गङ्गाबहादुरको फार्ममा अहिले उत्पादन दिन थालेका दुई हजार ५०० बोट गोलभेडा छन् । आइटेक प्रविधि अपनाएर बनाइएको फार्मबाट गङ्गाबहादुरले दिक्तेल बजारमा दैनिक ७० देखि १०० केजीसम्म गोलभेडा बिक्री गर्नुहुन्छ ।
प्रति केजी रु ७० मा बिक्री भइरहेको गोलभेडाबाट मात्रै खर्च कटाएर मासिक रु ७५ हजारभन्दा बढी आम्दानी हुने गङ्गाबहादुर बताउनुहुन्छ । गङ्गाबहादुरको कृषि फार्ममा गोलभेडासँगै च्याउ, बन्दा, काउली, भिण्डी, सिमी, अकबरे खुर्सानी लगायत विभिन्न तरकारी बाली उत्पादन हुन्छ ।
जिल्लामा बाहिरी जिल्लाबाट आयातित तरकारीलाई बिस्थापित गर्न र जिल्लामै अर्गानिक उत्पादित कृषि उपजलाई बजारीकरण गर्न अभियान शुरु गरेको बताउनुभयो । “बजारमा अर्गानिक कृषि उपजको माग बढेको बढ्यै छ । उत्पादनले थेग्न सकेको छैन”, उहाँले भन्नुभयो, “आफ्नो फार्मबाट उत्पादित गोलभेडाले बजारको माग धान्न धौ–धौ भएको छ । केही समयपछि थप बिस्तार गर्ने योजना बनाएको छु ।”
पछिल्लो पाँच वर्षको अवधिमा कृषि, राजनीति र अध्ययनलाई सँगसँगै अगाडि बढाउनुभएका गङ्गाबहादुरले समाज शास्त्रमा स्नातकोत्तरको अध्ययन यसै वर्ष पूरा गर्दै हुनुहुन्छ । दुःखका साथ बाल्यकाल बिताउनुभएका गङ्गाबहादुरले तीन÷तीनवटा क्षेत्रमा एकै पटक प्राप्तु गर्नुभएको सफलता देखेर जिल्लाबासीसमेत चकित परेका छन् ।
दश स्थानीय तह रहेको जिल्लामा यातायात अवरुद्धका कारण जिल्लाकै अन्य कृषकले उत्पादन गरेका कृषि उपज बजारसम्म ल्याउन सकिएको छैन । यसमा सम्बन्धित निकायले ध्यान दिन जरुरी रहेको कृषकहरुको भनाइ छ ।