काठमाडौं,२४ साउन । एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल समूह दुई चिरा भएको छ । नेता नेपाल एकातीर भएका छन् भने पार्टी उपाध्यक्ष भीम रावलले छुट्टै समूह तयार पारेका छन् ।एमालेलाई बलियो बनाउनु पर्ने पक्षमा उभिएका दोस्रो पुस्ताका नेताहरुलाई ठेगान लगाउन माधवले बोलाएको आफू निकट केन्द्रीय सदस्यको बैठकबाट सो समूहमा स्पष्ट दुई चिरा देखिएको हो ।
माधव समुहमा जसरी पनि पार्टी एकता गर्नुपर्ने र अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्यको सम्भावना सकिएकाले विद्रोह गरेर देउवा सरकारमा सहभागी हुनुपर्ने प्रस्ट दुई धार देखिएका छन् । एकताको धारको नेतृत्व भीम रावलले गरेका छन् भने विभाजनको नेतृत्व स्वयम् नेपालले गरेका छन् ।नेपाल समूहका केन्द्रीय सदस्यहरूको शुक्रबार सकिएको बैठकमा दोस्रो तहका नेताहरूले पार्टी एकता निर्विकल्प रहेको बताए भने केही सांसदसहित अधिकांशले विकल्पमा जानुपर्ने धारणा राखे । आफ्नै समूहमा दुई धार देखिएपछि माधवसमेत तत्काल देउवा सरकारमा गएर अग्रगामी छलाङ मार्ने पूर्वमान्यताबाट पछि हटेका छन् ।
दुई धारकै कारण एकता वा बिभाजनबारे निणर्य गर्ने जिम्मा स्थायी कमिटीमा रहेका नेताहरुलाई दिइएको छ । नेता नेपालले एकता कि विद्रोह भन्नेमा निणर्ायक कदम चाल्न परामर्शका लागि आफ्नो समूहका केन्द्रीय सदस्यहरूको बैठक बिहीवार र शुक्रवार बोलाएका थिए ।बैठकको अध्यक्षता गर्दै सुरुमा नेता नेपालले एकताका लागि विश्वासको संकट रहेको बताउँदै खुलेर सुझाव दिन भनेका थिए । तर बैठकमा उपाध्यक्ष भीम रावलसहित प्रभावशाली नेताहरु दृढ अडानमा उभिएपछि माधव आफै व्याक हुनुपरेको छ । माधव समूहको बैठकमा ५५ सदस्यले धारणा राखेका थिए ।
बैठकमा विवाद समाधानका लागि गठित कार्यदलका सदस्यको भूमिकामाथि पनि प्रश्न उठेको थियो । तर कार्यदलका सदस्यहरूले दसबुँदे सहमतिको प्रस्ताव उपलब्धिमूलक रहेको निश्कर्ष सुनाए । बैठकमा उपाध्यक्ष भीम रावल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकणर् विष्ट, सचिव भीम आचार्य, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, रघुजी पन्तसहितका नेताहरुले दसबुँदे सहमति कार्यान्वयन गरेर एकतामा जानुपर्ने मत राख्दै माधवलाई चुनौती दिएका थिए ।
त्यस्तै, चिव योगेश भट्टराई पनि एकताकै पक्षमा उभिए । केन्द्रीय सदस्यहरू निरज आचार्य, सुरेन्द्र मानन्धर, ठाकुर गैरे, रवीन्द्र अधिकारी, यज्ञ सुनुवार, झपट रावल, बलदेव चौधरीलगायतले पनि निर्विकल्प एकताको पक्षमा आफूलाई अभ्याएका छन् । उनीहरुले एमाले विभाजन भए देश र संविधानमा क्षति हुने तर्क गरेका थिए ।
एमालेमा रहन नहुने तर्क पनि सो बैठकमा आएको छ । उपाध्यक्ष युवराज ज्ञवालीससहित मुकुन्द न्यौपाने, बेदुराम भुसाल, रामकुमारी झाँक्री, विरोध खतिवडा, जगन्नाथ खतिवडा, घनेन्द्र बस्नेत, डा. विजय पौडेल, बलराम बाँस्कोटा, वसन्त मानन्धर, रामचन्द्र यादवलगायतले बिभाजनकै पक्षमा जानु पर्ने तर्क गरेका थिए ।केन्द्रीय सदस्य मेटमणि चौधरी र प्रेम आलेले भने तत्कालै शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने अडान राखे । विश्वासको मत दिएर संसद् जोगाएको भन्दै सरकारमा जानुपर्ने तर्क आले र चौधरीको थियो ।
मोटिभेट न्यूजबाट