खोटाङमा पनि थालियो ‘तपाईको मास्क खै ?’ अभियान

0 Shares

सन्तोश पौडेल

खोटाङ, २४ साउन । खोटाङमा ‘तपाईको मास्क खै ?’ अभियान शुरु गरिएको छ । जिल्लामा दिनानुदिन कोभिड-१९ को सङ्क्रमण बढ्दै गएपिछ न्यूनिकरण गर्न जनचेतना मुलक सन्देश फैलाउदै ‘तपाईको मास्क खै’ अभियान शुरु गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, उद्योग वाणिज्य सङ्घ र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङको संयुक्त आयोजनामा दिक्तेल बजारस्थित रत्नपार्कबाट अभियान शुरु गरिएको थियो । हालसम्म लकडाउन नगरिएको जिल्लामा सर्वसाधारणको चहलपहलका कारण सङ्क्रमण बढ्न सक्ने सम्भावना रहेको ठहरसहित नियन्त्रण गर्न ‘तपाईको मास्क खै ?’ अभियान शुरु गरिएको हो ।

दश स्थानीय तह रहेको जिल्लामा लकडाउन नभएकाले सर्वसाधारण बिना सावधानी बाहिर हिड्डुल गरिरहेका छन् । अभियानको पहिलो दिन (आइतबार) दिक्तेल बजारमा मास्क नलागाई हिँडेका सर्वसाधरणलाई निःशुल्क मास्कसमेत वितरण गरिएको छ ।

अभियानकर्मीले ‘तपाईको मास्क खै ?’ भनेर सोधेपछि कतिपयले हत्तपत्त मास्क लगाएका थिए । जिल्लामा लकडाउन नहुँदा स्थानीय बासिन्दाले मास्कको प्रयोग गर्न छाडेका कारण सङ्क्रमण बढ्ने सम्भावनालाई रोकथाम तथा नियन्त्रण गर्न अनिवार्य मास्क प्रयोग गराउन सचेतनामुलक कार्यक्रम गरिएको रेडक्रसले जनाएको छ ।

अभियानमा सहभागीले ‘तपाईको मास्क खै ?’ मास्कको नियमित प्रयोग गरौं, भौतिक दूरी कायम गरौँ/गराऔँ, भीडभाड नगरौँ, भीडमाडमा नजाऔ, अनावश्यक हिँडडुल नगरौं’ लगायतका सन्देश लेखिएको प्लेकार्ड बोकी माइकिङ समेत गरिएको थियो । आइतबारबाट शुरु गरिएको यो अभियान हप्तादिनसम्म सञ्चालन गरिने उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताउनुभयो । “पछिल्लो समय जिल्लामा कोरोना सङ्क्रण दर उल्लेख्य मात्रामा वृद्धि भएको छ”, उहाँले भन्नुभयो, “लकडाउन नभएकाले यो बीचमा बिना स्वास्थ्य मापदण्ड सर्वसाधारण हिँडडुल गर्दा सङ्क्रमण बढेको हो । यसलाई नियन्त्रण गर्न सबैको सहयोग आवश्यक छ ।”

जनचेतना मुलक अभियानमा सहायक प्रमुख जिल्ला अधिकारी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका स्वास्थ्यकर्मी, जिल्ला जनस्वास्थ्य कार्यालयका कार्यालय प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रमुख, मानव अधिकारकर्मी, उद्योग वाणिज्य सङ्घका अध्यक्ष, रेडक्रसका पदाधिकारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया