काठमाडौँ,२५ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नै पार्टीका सभापनि एवं प्रधानमन्त्री शेरबहादुर देउवाप्रति कडा टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले पार्टीको महाधिवेशन गर्न नसकेको र सबैतिर असफल भए पनि सत्तामा चाहिँ बारम्बार गएको बताएका हुन् ।
उनले पार्टीको विधानअनुसार हरेक चार वर्षमा महाधिवेशन गरिसक्नु पर्नेमा म्याद थपिएको साढे एक वर्ष बित्दा पनि फेरि महाधिवेशन अन्यौलमा धकेलेको आरोप लगाएका छन् । नेता पौडेलले पार्टीको मूल नेतृत्वकै अक्षमताका कारण निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पार्टी पुगेको आरोप लगाएका छन् ।
उनले भनेका छन्, ‘आज आएर त्यस भित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोग संग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको छ । यहाँ भन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापर्वाही अरु के हुन्छ ? यो देशकै विडम्वना हो । सर्वत्र असफल व्यक्तिहरु वारंवार सत्ता समाल्न पुग्छन् ।’
यो खबर न्यूज २४ नेपाल डट टिभिमा प्रकाशन गरिएको छ ।