काठमान्डौं, २७ साउन। धनुषामा भजनकीर्तन भइरहेका बेला माइकमा करेन्ट प्रवाह भई दुई कीर्तनमण्डलीको ज्यान गएको छ । क्षीरेश्वरनाथ नगरपालिका-३ पर्साटोलका बुलन यादवको घरमा मङ्गलबार भइरहेको भजनकीर्तनमा माइकमा करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा जिल्लाको लक्ष्मीनिया गाउँपालिका-३ बस्ने ५५ वर्षीय विन्दा दास र ५० वर्षीय मनिराम यादव रहेको प्रहरीले जनाएको छ ।दुवै जनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
यो पनि, वर्षाको समय चरन क्षेत्र नभएपछि चितवनका मौरी किसान मौरी चराउन धादिङको गजुरी र गल्छी आइपुगेका छन् । मौरीलाई चाहिने फूलको रस नभएका कारण मौरीको घार बोकेर किसान धादिङको गजुरी गाउँपालिकाको बन्सेटारमा आएको हुन् । बन्सेटार र गल्छी गाउँपालिकाको बैरेनीमा बाँझो जग्गा भाडामा लिएर मौरीको घार राखिएको छ ।
चितवनमा विगत १८ वर्षदेखि मौरीपालन गर्दै आउनुभएका ७० वर्षीय अशोक बस्नेत अझै जोस् र जाँगरका साथ मौरी चराउँदै हिँडिरहनुभएको छ । उहाँसँगै अर्जुन कार्की, सुरेश बस्नेत र कुमार कार्कीसमेत ४५० घार मौरी लिएर चराउन आउनुभएको छ ।
धादिङमा मेलिफेरा जातको मौरीका लागि उपयुक्त स्थान भएकोले मौरी चराउन ल्याएको बन्सेटारमा भेटिनुभएका अर्जुनले बताउनुभयो । धादिङमा चराउन ल्याइएका मौरी भदौसम्म राखिने उहाँले बताउनुभयो ।