काठमान्डौं,२७ साउन । नेकपा एमालेका सचिव भीम आचार्यले पार्टी विभाजनको संघारमा पुगेको भन्दै एकताका लागि ८ बुँदे अपिल जारी गर्नुभएको छ । विभाजनकारीहरू सक्रिय भएकाले पार्टी गम्भीर संकटमा परेको उल्लेख गर्दै सचिव आचार्यले बुधबार बिहानै पार्टी बचाइदिन देशविदेशमा रहेका नेपालीसमक्ष हारगुहार गर्नुभएको हो ।
उहाँले भन्नु भएको छ,‘दुनियाँभरकै प्रतिक्रियावादी शक्तिहरू, देशभित्रका प्रतिगामी सत्ताच्युत तत्त्वहरू र राम्रो काम गरेर होइन अरूलाई बिगारेर, छिर्के लगाएर, फुटाएर सत्तामा जान लालायित प्रतिस्पर्धी शक्ति नेकपा एमालेलाई फुटाउने प्रयत्न गरिरहेको छ,’ आचार्यले भनेका छन्, ‘टुटफुट र विभाजनकारी प्रवृत्तिलाई हतोत्साहित गर्दै संगीन घडीमा पुगेको पार्टी एकताको रक्षा गर्न र त्यसमा बल प्रदान गर्न म देशविदेशमा रहनुभएका सम्पूणर् न्यायप्रेमी नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा हार्दिक अपिल गर्दछु।’
आचार्यले जारी गरेको अपिलको पूर्ण पाठ
यतिबेला नेकपा एमालेमा विभाजनकारी प्रवृत्ति हावी भएकाले यो गम्भीर संकटबाट गुज्रिरहेको छ।
१ एकातिर गत फागुन २८ गतेबाट सुरु भएको विभाजनकारी प्रवृत्तिहरू कतिपय बोली, वचन, काम, व्यवहार र निणर्यहरूमा हालसम्म पनि प्रकट भइरहेका छन्।
२ अर्कोतिर त्यो प्रवृत्तिको विरोधमा पार्टी एकताको झण्डा उठाउनुपर्ने अपेक्षा गरिएको पक्षका काम, कारबाही, सर्त, माग र गतिविधिहरू विभाजनकै पक्षमा प्रकट भइरहेका हुन् कि भन्ने आशंका बढेर गएको छ।
३ पक्ष २ वटा प्रवृति एउटै विभाजनकारी नहोस् भन्ने आम कार्यकर्ताको अपेक्षा हो।
४ दुनियाँभरकै प्रतिक्रियावादी शक्तिहरू, देशभित्रका प्रतिगामी सत्ताच्युत तत्त्वहरू र राम्रो काम गरेर होइन अरूलाई बिगारेर, छिर्के लगाएर, फुटाएर सत्तामा जान लालायित प्रतिस्पर्धी शक्ति नेकपा एमालेलाई फुटाउने प्रयत्न गरिहेको छ।
५ नेकपा एमालेका देशविदेशमा भएका लाखौं कार्यकर्ता, समर्थक, शुभचिन्तक तथा जनसमुदायहरू नेपालको वामपन्थी आन्दोलन र नेकपा एमालेको एकताका पक्षमा छन्, तर उनीहरू पार्टी बचोस् भन्ने अपेक्षा गर्ने तर केही गर्न नसक्ने तमासेजस्ता भएका छन् र विडम्बना उनीहरू नेतृत्वविहीन पनि छन्।
६ गत असार २७ गते भएको १० बुँदे सहमति सम्मानजनक पार्टी एकताको मुख्य आधार हो। यसैमा टेकेर एकताको शुभारम्भ गर्दै थप समस्याहरू हल गर्दै जान सकिन्छ। बिनाजालझेल, छलछाम र हिच्किचाहट रूपमा यसलाई लागू गर्नुपर्दछ।
७ हाल पार्टी एकताको कुरा गर्नेहरूमाथि आक्रमण गर्ने, निरुत्साहित९हतोत्साहित गर्न खोज्ने, अनेक आरोप लगाएर बदनाम गर्ने प्रयासहरू भइरहेका छन्। त्यसबाट एकता पक्षधरहरू हतोत्साही हुनु हुँदैन।
८ टुटफुट र विभाजनकारी प्रवृत्तिलाई हतोत्साहित गर्दै संगीन घडीमा पुगेको पार्टी एकताको रक्षा गर्न र त्यसमा बल प्रदान गर्न म देशविदेशमा रहनुभएका सम्पूर्ण न्यायप्रेमी नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा हार्दिक अपिल गर्दछु ।