जबज सिंगो लोकतान्त्रिक आन्दोलनकै मार्गदर्शक सिद्धान्त : ओली

0 Shares

काठमान्डौं,२७ साउन । एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद (जवज) नेपाली कम्युनिष्ट आन्दोलको मात्रै नभइ सिंगो लोकतान्त्रिक आन्दोलनको पनि मार्गदर्शक सिद्धान्त भएको ठोकुवा गर्नुभएको छ । एमाले पार्टी स्कूल बिभागको आजको बैठकमा बोल्दै सो बिभागका प्रमुखसमेत रहनुभएका अध्यक्ष ओलीले यस्तो ठोकुवा गर्नुभएको हो ।

‘नेपालमा आजको माक्र्सवाद भनेकै जबज हो, जहाँ राजनीतिक मार्गदर्शन मात्र होइन, जनताको आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार सुनिश्चित गर्ने मार्गदर्शनसमेत स्पष्ट रहेको छ, यसैमा आधारित भएर हामीले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई अगाडि बढाएका छौं र बढाई रहने छौं,’ बैठकमा अध्यक्ष ओलीको भनाई उधृत गर्दै सचिव इश्वरी रिजालले भन्नुभयो, ‘जबजले नेपाली कम्युनिष्ट आन्दोललाई मात्र होइन, सिङ्गो देशको लोकतान्त्रिक आन्दोलनलाई मार्गदर्शन गर्दछ ।’ सचिव रिजालका अनुसार सम्बोधनको क्रममा नियमित पार्टी स्कुल सञ्चालन गर्ने, स्कुल विभागका सबै सदस्यहरू विषय प्रस्तुतिका लागि तयारी अवस्था रहनुपर्ने कुरामा विशेष जोड दिंदै अध्यष ओलीले समसामयिक राजनीतिक परिस्थितिकाबारे विश्लेषण प्रस्तुत गर्नुभएको छ ।

पुनर्गठित केन्द्रीय पार्टी स्कुल विभागको प्रथम बैठक आज अध्यक्ष ओलीको बालकोटस्थित निवासमा बसेको हो । बैठकमा १७ सदस्यमध्ये १४ जना सहभागी हुनुभएको छ । बैठकले तुल्सीलाल प्रतिष्ठानमा रहेको केन्द्रीय पार्टी स्कुल हाल नेकपा (एमाले) वागमती प्रदेश कमिटीले कार्यालयका रूपमा प्रयोग गर्दै आएकोे हुंदा सो स्थान यथाशक्य चाँडो पार्टी स्कुललाई उपलव्ध गराउन वागमती प्रदेश कमिटीलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

यसैगरी विभागका सचिव ईश्वरी रिजालद्वारा प्रस्तुत प्रशिक्षण पाठ्यक्रमलाई विभागका सम्पूर्ण सदस्यहरूले अध्ययन गरी तीन दिनभित्र आफ्ना सुझाव प्रस्तुत गर्ने र प्राप्त सुझावका आधारमा रामवहादुर थापा, शंकर पोखरेल, प्रदीप ज्ञवाली र रिजालले उक्तपाठ्यक्रमलाई परिस्कृत गरी प्रमुखसमक्ष प्रस्तुत गर्ने र पाठ्य सामाग्री तयार पारी नियमित स्कुल सञ्चालन गर्ने निर्णय गरेको छ । यसैगरी स्कुल विभागका सदस्य एवं विज्ञ प्रशिक्षकहरूको विषयगत सूची तयार पार्न वैठकले सचिव रिजाल र सदस्य घनश्याम कोइरालालाई जिम्मेवारी प्रदान गरेको छ ।
यो समाचार जनता टाइम्स डटकमा प्रकाशित छ ।

तपाईको प्रतिक्रिया