कर्णालीमा मजबुत बन्यो एमाले संस्थापन

0 Shares

सुर्खेत, २९ साउन  । आन्तरिक संघर्षका कारण प्रदेशसभामा वहुमत हुँदा–हुँदै पनि विपक्षी गठबन्धनको सरकार बनेपछि कर्णालीमा एमालेको समीकरण फेरिन थालेको छ । बरिष्ठ नेता माधवकुमार नेपालले घोषित रुपमै पार्टीबिरुद्धको अभियानमा लागेर कांग्रेस–माओवादीलाई सघाउने खेल खेलेपछि बिस्तारै कर्णालीका एमाले नेताहरु संस्थापन नै ठीक भन्ने निश्कर्षमा पुगेलगत्तै समीकरणमा पनि फरबदल आएको हो ।

माधव नेपाल पक्षका चार सांसदले माओवादी–कांग्रेस गठबन्धनलाई सघाएपछि एमालेको आन्तरिम समीकरणमा फेरबदल आएको हो । यो फेरबदलसँगै एमाले संस्थापन पक्ष कर्णालीमा निकै बलियो बनेको छ । यसअघि कर्णालीमा अध्यक्ष केपी शर्मा ओली भन्दा माधव नेपाल समुह बलियो रहेको थियो । तर पछिल्लो समय एमालेका जिल्ला कमिटीका नेतृत्वमा भारी फेरबदल आएको छ । दश जिल्ला रहेको कर्णाली प्रदेशमा अहिले आठ जिल्लामा संस्थापन पक्ष हावी भइसकेको छ भने दुई जिल्लामा मात्रै नेपाल पक्षका अध्यक्ष रहेका छन् ।

यसअघि नेपाल खेमाबाट जिल्ला अधिवेशनमा विजयी बन्नुभएका जाजरकोटका अध्यक्ष करवीर शाही, सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाही र हुम्लाका अध्यक्ष दल रावल संस्थपन पक्षमा खुलेर लाल्नुभएको छ । नेपाल समुहमा रुकुम पश्चिमका विमल पुन र जुम्लाका अध्यक्ष तीर्थ बुढा नेपाल हुनुहुन्छ । २०७५ जेठ दुई गतेको एमाले संरचना हेर्ने हो भने कर्णालीका ५ जिल्लामा नेपाल पक्ष हावी थियो ।

सुर्खेतमा ध्रुवकुमार शाही, रुकुममा विमल पुन, हुम्लामा दल रावल, जाजरकोटमा करवीर शाही र जुम्लामा तीर्थ बुढा नेपाल समूहबाट अध्यक्षमा निर्वाचित हुनुभएको थियो । अन्य जिल्लामा पनि नेपाल पक्ष थोरै मतले पराजित भएको थियो । तर अहिले कर्णालीमा समीकरण पूर्ण रुपमा बदलिएको छ । अहिले संस्थापन पक्षमा दैलेखका अध्यक्ष रविन्द्रराज शर्मा, सल्यानका अध्यक्ष गोविन्द पुन, मुगुका कार्यवाहक अध्यक्ष डम्बर रावल, डोल्पामा तुलाचन बुढा र कालिकोटमा अध्यक्ष नगेन्द्र शाही रहनुभएको छ ।

डोल्पाका निर्वाचित अध्यक्ष दत्त बहादुर रोकायाको कोभिडका कारण उपचारकै क्रममा निधन भएपछि तुलाचन बुढालाई कार्यवाहक अध्यक्षको जिम्मा दिइएको छ । उहाँ संस्थापनबाटै निर्वाचित हुनुभएको थियो । मुगुमा संस्थापन पक्षका नेता मोहन बानियाँ केन्द्रीय सदस्य भइसकेपछि उहाँले अध्यक्ष पदको जिम्मा रावललाई दिनुभएको हो ।

यता, २० सांसद रहेको कर्णाली प्रदेश सभा संसदीय दलमा संस्थापनको एकलौटी जस्तै भएको छ । नेपाल समुहका आठ जना रहेकोमा चार जनाको सांसद पद गइसकेको छ । चारै जनालाई वैशाख ३ गते माओवादीलाई विश्वासको मत दिएका कारण एमालेले कारवाही गरिसकेको छ । २०७४ सालको प्रदेश सभाको निर्वाचनको समयमा संस्थापनका १२ र माधव समुहका ८ जना निर्वाचित हुनुभएको थियो । माधव समुहका बाँकी चारजना पदमा खड्का, करवीर शाही, सुशील थापा संस्थापनमै खुलेर लागिसक्नु भएको छ । पछिल्लो समय देवी ओली र चन्द्रबहादुर शाही पनि एमाले फूटाउन नहुने पक्षमा उभिनुभएको छ । यो सँगै कर्णाली प्रदेशसभामा पनि नेपाल पक्षको उपस्थिति कमजोर भएको छ ।

संघीय सांसदहरुमा पनि नेपाल पक्ष कमजोर बनेको छ । प्रतिनिधिसभामा एमालेका ९ जना सांसद छन । तीमध्ये प्रत्यक्ष निर्वाचित सुर्खेतका ध्रुव शाही, नवराज रावत, दैलेखका रविन्द्रराज शर्मा र समानुपातिकतर्फ मुगुका मोहन बानियाँ र रुकुम पश्चिमकी तीर्था गौतम संस्थापन पक्षमा हुनुहुन्छ । डोल्पाका धनवहादुर बुढा, मुगुका गोपाल बम र समानुपातिकतर्फ पार्वती विसुंखे माधव पक्षमा हुनुहुन्छ ।

दैलेखका निर्वाचित राजवहादुर बुढा भने दुवै पक्षका बैठकमा सहभागी छैनन । जाजरकोटका अध्यक्ष करबीर शाहीले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कर्णालीमा माधव समुहमा रहेका थप नेताहरु एमालेमै फर्कने जानकारी गराउनु भएको छ । शाही बुधवार साँझ बालकोट पुगेर अध्यक्ष ओलीसँग भेट गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया