बुटवल, २९ साउन । पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि संसद विघटनको योजना तयार पार्न थालेको दाबी गरेका छन् ।
पश्चिमनवलपरासीमा आज शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै उनले कांग्रेसको महाधिवेशनलगत्तै देउवा सरकारले संसद् विघटन गरेर चुनाव गराउने योजनामा रहेको सूचना बाहिर आउन थालेको दाबी गरेका हुन् ।
देउवा नेतृत्वको वर्तमान सरकार धेरै नटिक्ने तर्क गर्दै उनले बढी टिके आगामी वैशाखसम्म मात्रै भएको दाबी पनि गरेका छन् । कात्तिक महिनाभित्र महाधिवेशन सकेर बैशाखमा चुनाव गराउने योजनामा देउवा रहेको उनको भनाइ छ ।
सरकार चलाउन कति गाह्रो रहेछ भन्ने कुरा सरकारले पूणर्ता नपाउनुले पुष्टि गरेको भन्दै उनले यस्तो तर्क गरेका हुन् । निर्वाचनको मुखमा धेरै समय सत्तामा रहिरहँदा पार्टी अलोकप्रिय बन्ने डर कांग्रेसमा भएको बताउँदै त्रिपाठीले कांग्रेसलाई धेरै समय सरकार चलाउने इच्छा नै नभएको समेत बताएका छन् ।