काठमान्डौं, ३० साउन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले केपी ओलीविरुद्ध एक्लै लडेर चुनाव जित्न नसकिने निश्कर्ष सुनाउनु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सत्तारुढ गठबन्धनमा रहनुभएका अध्यक्ष दाहालले ओलीसँग जित्न आगामी तीनै तहका निर्वाचनसम्म गठबन्धन कायम राख्ने प्रस्ताव गर्दै ओलीसँग जित्न नसकिने निश्कर्ष सुनाउनु भएको हो ।
‘केपी ओलीबिरुद्धको लडाई जित्न तीनै तहको निर्वाचनमा बर्तमान गठबन्धनबीच तालमेल जरुरी छ, यही नीतिअनुसार जानुपर्छ भन्ने प्रस्ताव अध्यक्ष कमरेडले राख्नुभएको छ,’ माओवादीका एक केन्द्रीय सदस्यले जनताटाइम्ससँग भने । उनका अनुसार अध्यक्ष प्रचण्डले आगामी चुनावमा पार्टीलाई प्रमुख शक्ति बनाउन गठबन्धनले सहयोग गर्ने निश्कर्ष पनि सुनाउनु भएको छ । काठमाडौंमा आजबाट शुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठानिक प्रतिवेदनमा ओलीविरुद्धको गठबन्धन लोकतान्त्रिक प्रणाली, संविधान र स्थायित्व तथा सुशासनका लागि भएकाले आउने चुनावसम्म कायम राख्ने नीति रहने उल्लेख छ ।
आफ्नो प्रस्तावमा प्रचण्डले आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनमा माओवादीलाई नेतृत्वदायी शक्तिका रुपमा स्थापित गर्ने समेत योजना अघि सार्नुभएको छ । यस्तै माधव नेपाललाई उक्साएर एमालेबाट अलग गराई ओलीबाहेकका कम्युनिस्टहरुको एकीकरण गर्ने प्रस्ताव अघि सार्नुभएको छ । एमालेसँगको एकता र गठबन्धन उपयुक्त भए पनि केपी ओलीको अहंकार र दम्भका कारण नेकपा विघटन भएको भन्दै प्रचण्डले आफ्नो प्रतिवेदनमा नयाँ प्रस्तव भन्दा ओलीविरुद्धको दस्तावेज बनाउनु भएको छ । जनता टाइम्स डटकम