सर्लाही, ३० साउन । एमाले स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री सुरेन्द्र पाण्डेले चाँडै नै पार्टी एक ढिक्का हुने खुलासा गर्नुभएको छ । शुक्रबार प्रेस चौतारी नेपाल सर्लाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पाण्डेले मिडियाले बाहिर उछाले जस्तो एमाले बिभाजन हुने अवस्थामा नरहेको भन्दै चाँडै एकढिक्का हुन खुलासा गर्नुभएको हो ।
‘मिडियाले दिएजस्तो अवस्थामा एमाले छैन, अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीचमा एमालेलाई थप मजबुत बनाएर लैजाने विषयमा छलफल भइरहेको छ, चाँडै नै पार्टी एक ढिक्का हुन्छ,’ पाण्डेले भन्नुभयो । उहाँले महाधिवेशनबाट निर्वाचित अध्यक्ष ओली नै रहेको बिषयमा कसैले प्रश्न उठाउन नसक्ने बताउनु भयो ।
पाण्डेले मिडियाले हल्ला गरे जस्तो एमाले आजै फुट्यो, अहिलै फुट्यो भने झैँ नरहेको र पार्टीले कार्यदलमार्फत ढिक्का बनाएर लैजाने विषयमा गम्भीर ढंगले छलफल अघि बढेको जानकारी पनि दिनुभयो ।