खोटाङ,३२ साउन । कोभिड-१९ को सङ्क्रमण दर बढ्न थालेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई मंगलबारबाट पूर्ण रुपमा बन्द गरिने भएको छ । दैनिकजसो गरिएको परीक्षणका क्रममा सङ्क्रमण दर दिनानुदिन बढ्दै गएपछि १५ वडा रहेको नगरपालिकालाई १० दिन बन्द गर्ने तयारी गरिएको हो ।
नगरपालिका भित्र कोभिड-१९ को संक्रमण दर बढ्न सक्ने सम्भावना देखिएको र उच्च सतर्कता अपनाउनु पर्ने भन्दै साउन २७ गतेको बैठकको निणर्य अनुसार नगरपालिकालाई १० दिन सिल गर्न लागिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले विज्ञप्ती जारीगर्दै औषधी पसल, इन्धन, तरकारी पसल र अन्य अत्यवश्यक कामका लागि सञ्चालन गर्नुपर्ने बाहेकका होटल, व्यापार व्यवसाय तथा यातायातका साधन पूणर्रुपमा बन्द गर्ने विज्ञप्तीमा भनिएको छ ।
नगरभित्रका सरकारी, गैर-सरकारी, संस्थान, बैंक तथा वित्तीय संस्था लगायतका कार्यालयको सेवा, हाटबजार, सभा सम्मेलन, जुलुस, धार्मिक क्षेत्रमा हुने पूजा लगायत अन्य भिडभाड हुने क्षेत्र बन्द गरिने विज्ञप्तीमा उल्लेख छ । नगरले अत्यावश्यक सेवाका लागि बाहिर निस्कनु परेमा जनस्वास्थ्यका मापदण्ड अपनाई उच्च स्वास्थ्य सतर्कता अपनाएर मात्र बाहिर निस्कन भनेको छ ।
यद्यपी, यसको प्रभावकारी कार्यान्वयनको पक्ष भने हेर्न बाँकी छ । यसअघिका बन्दमा बैंक तथा वित्तिय संस्था र कतिपय सरकारी कार्यालयलाई खोल्ने छुट दिएर व्यापार व्यवसाय मात्र बन्द गर्न खोजेको व्यवसायीको गुनासो थियो । अहिलेसम्म निषेधाज्ञा लागू नगरिएको यस जिल्लामा १२ जनाले ज्यान गुमाइ सकेका छन् । नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ठूला शहर तथा तराईका जिल्लामा ५०० र पहाडी जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित भएमा तत्काल निषेधाज्ञा लागू गर्न भनेको छ ।
जिल्लाभर नै कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि पछिल्लो समय पुनः ‘तपाईको मास्क खोइ ?’ अभियान शुरु गरिएको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्लाका दशवटै स्थानीय तहमा अभियान शुरु गरिएको हो ।