काठमाडौँ, १ भदौ । आफ्नै पार्टीको सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशको नेपाली काँग्रेसभित्रबाटै विरोध भएको छ । मंगलबार मन्त्रिपरिषदको बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्याले पार्टी विभाजन गर्न अध्यादेश ल्याउन राष्ट्रपति भण्डारी समक्ष सिफारिस गरेको छ ।
अध्यादेशले आफ्नै पार्टी फुटाउन ल्याइएको भन्दै नेकपा एमालेले कडा शब्दमा निन्दा गरेको छ भने प्रदर्शन गर्ने भएको छ । त्यस्तै, अध्यादेशविरुद्ध सत्तारुढ दलकै नेताहरुले विरोध गरेका छन् ।
डा. शेखर कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्- सरकार सञ्चालनको सुविधाको लागि राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याइएको हुनसक्छ तर अध्यादेशबाट राजकाज चलाउने सोचको समर्थन गर्न सकिन्न । सरकारले संसद्बाट परिमार्जन र सुधार सहित बजेट पास गर्ने तर्फ सक्रियता देखाउनु पर्थ्यो । यो चुक प्रधानमन्त्रीबाट भयो । यो काँग्रेसको संस्कार होइन ।
त्यस्तै, नेता प्रदीप पौडेल लेख्छन्- हिजो ओलीले संसद् छलेर अध्यादेश ल्याउँदा हामी प्रतिपक्षमा थियौँ । उनले गलत गरे, हामी त्यसको डटेर प्रतिकार गर्यौँ । आज संसद् अधिवेशन अन्त्य गरेर सरकारले ल्याएको अध्यादेश हिजोको प्रवृत्ति भन्दा फरक छैन असंवैधानिक काम गर्ने जो कोहीलाई ढाकछोप गर्नु लोकतन्त्र र संविधानमाथिको प्रहार हो ।