काठमाडौं, १ भदौ । एमालेका अध्यक्ष केपी ओलीले प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य गरेकोमा विरोध गरेका छन् ।सोमबार राति विज्ञप्ति जारी गरेर ओलीले सरकारले पूर्व घोषित प्रतिवद्धता विपरीत प्रतिनिधि सभाको चालु अधिवेशन हठात् अन्त्य गरेको आरोप लगाएका हुन् ।
मन्त्रिपरिषदको सिफारिसमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले राति १२ बजेदेखि दुबै संसदको अधिवेशन अन्त्य गरेकी थिइन् । ओलीले संसद अधिवेशन अन्त्य गरेर राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन खोजेको र एमालेलाई विभाजित गर्ने षड्यन्त्र भइरहेको उल्लेख गरेका छन् ।
‘पूर्वघोषित प्रतिवद्धताविपरीत प्रतिनिधि सभाको चालु अधिवेशन हठात अन्त्य गरेर राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने र नेकपा एमालेलाई विभाजित गर्ने षड्यन्त्र गरिँदैछ’, अध्यक्ष ओलीले भनेका छन् ।
उनले पार्टी विभाजन गर्ने षड्यन्त्र मान्य र क्षम्य हुन नसक्ने पनि बताएका छन् ।‘एमाले र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना वा षड्यन्त्र पार्टीका लागि मान्य र क्षम्य हुन सक्तैन,’ उनले भनेका छन्, ‘तसर्थ पार्टीका सम्पूणर् नेता, कार्यकर्ता प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका माननीय सदस्यहरूलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासहरूविरूद्ध दृढताका साथ उभिन हार्दिक अपील गर्दछु ।’
ओली यसअगाडि प्रधानमन्त्री हुँदा पनि राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएका थिए । त्यसबेला उक्त अध्यादेशको विरोध भएको थियो ।