खोटाङ, २ भदौ । हलेसी तुवाचुङ नगरपालिका-७ हलेसीकी ३८ वर्षीया सानिका राईलाई धारिलो हतियार (खुकुरी) प्रहारगरी गम्भीर घाइते बनाएर फरार बनेको आरोपमा प्रहरीले स्थानीय दुई युवालाई पक्राउ गरेको छ । साउन १३ गते राति करीब १० बजे सुतिरहेको अवस्थामा खुकुरी प्रहारगरी गम्भीर घाइते बनाएर फरार रहेको आरोपमा सानिकाकै दिदीको छोरा २८ वर्षीय टिशन राई र सोही स्थानका २७ वर्षीय मने भनिने कुमार सार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुविरुद्ध ज्यान मार्ने उद्योग कसुर अन्तरगत मुद्दा दर्ता गरेर कारबाहीको लागि प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले जानकारी दिनुभयो । पक्राउ परेका उनीहरुविरुद्ध थप अनुसन्धान गर्न जिल्ला अदालत खोटाङबाट सात दिनको म्याद थप गरिएको जनाइएको छ ।
घटनापछि जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएका टोलीले उनीहरुलाई मङ्गलबार दिउँसो ३ बजे आ-आफ्नै घरमा लुकिरहेको अवस्थामा फेला पारेर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताउनुभयो । “पक्राउ परिएका उनीहरु दुवै जनाले घटनाबारे स्वीकार गरिसकेका छन्”, उहाँले भन्नुभयो, “उनीहरुले प्रयोग गरेको धारिलो हतियार (खुकुरी) र रगत लागेको कपडा (भेष्ट)समेत सार्कीको घरबाट बरामद गरिएको छ ।”
खुकुरी प्रहारबाट गम्भीर घाइते सानिकाको ललितपुरस्थित बिएण्डबी अस्पतालमा उपचार भइरहेको उहाँका आफन्तले बताएका छन् । घटनापछि जिल्लास्थित स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि बिएण्डबी अस्पताल ललितपुर पुर्याएको सानिकाको शरीरका विभिन्न ठाउँमा गहिरो चोट लागेको थियो ।
घटनापछि बेहोस अवस्थामै अस्पताल पुर्याइएको सानिकाको स्वास्थ्य अवस्था पछिल्लो समय सुधारन्मुख रहेको पारिवारिक स्रोतले जनाएको छ । विवाह गरेपनि माइतीघर बस्दै आउनुभएकी सानिकाको टाउको, हात, चिउँडो लगायत शरीरको विभिन्न ठाउँमा गहिरो चोट लागेको थियो ।