कोरोना सङ्क्रमण नियन्त्रण गर्न युवाद्धारा स्वास्थ्य सामग्री वितरण

0 Shares

खोटाङ,३ भदौ । नव युवा सामाजिक सेवा समाज दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेले सर्वसाधारणको घरघरमा पुगेर स्वास्थ्य सामग्री वितरण गरेको छ । कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमै फैलिएपछि सङ्क्रमण नियन्त्रण गर्न सर्वसाधारणको घरघरमा पुगेर स्वास्थ्य सामग्री वितरण गरेको हो ।

नगरपालिकाले उपलब्ध गराएको स्वास्थ्य सामग्री जनताका घरघरमा पुगेर वितरण गरिएको समूहका संयोजक देवकुमार बस्नेतले बताउनुभयो । समूहमा आवद्ध पदाधिकारी नगरपालिकाबाट प्राप्त एक हजार थान सर्जिकल मास्क, ५२ थान फेस सिल्ड, दुई लिटर स्यानीटाइजर, १०० पिस हेण्ड ग्लोब्स स्थानीयको घरघरमा पुगेर वितरण गरेको छ ।

यस्तै, अभियानमा स्थानीय टीका खत्रीद्धारा ३०० थान सजिर्कल मास्क र नन्दबहादुर बस्नेतले २०० थान मास्क उपलब्ध गराएको जनाइएको छ । संयोजक बस्नेतका अनुसार खाल्लेस्थित डाँडाखर्क, सिद्धेश्वर गुफा, खानीडाँडा, मझुवा बाँस्बाटे, पुरानो वडा कार्यालय र नेवार गाउँका स्थानीयबासीका घरघरमा पुगेर स्वास्थ्य सामग्री वितरण गरेको हो ।

नगरपालिकाले नगरका वडा सिल गरेपनि गाउँका स्थानीय बासिन्दाले मास्कको प्रयोग गर्न छाडेका कारण सङ्क्रमण बढ्ने सम्भावनालाई रोकथाम तथा नियन्त्रण गर्न अनिवार्य मास्क, स्यानीटाइजर प्रयोग गराउन संस्थाले अभियान शुरु गरेको छ । यो अभियान १५ दिनसम्म निरन्तर सञ्चालन गरिने समूहले जनाएको छ ।

पन्ध्र वडा रहेको यस नगरपालिकाका सबै वडा सिल गरिएको समयमा पनि नगरपालिकाले उपलब्ध गराएको पासका आधारमा संस्थाले स्वास्थ्य सामग्री वितरण गरेको जनाएको छ । यो अभियान सफल पार्न खाल्लेका नौँ जना युवा परिचालन गरिएको संयोजक बस्नेतले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया