साकेला गाउँपालिकाले खरिद गर्यो एम्बुलेन्स

Halesi Khabar
0 Shares

खोटाङ, ३ भदौ । साकेला गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको छ । बिरामी, घाइते वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई सहज तरिकाले स्वास्थ्य संस्थासम्म पु¥याउन र ल्याउन निःशुल्क सुविधा उपलब्ध गराउने उद्देश्यका साथ गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको हो ।

ठेक्का प्रणालीबाट भारु पाँच लाख ९७ हजार ३०२ मा एम्बुलेन्स खरिद गरिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले जानकारी दिनुभयो । एम्बुलेन्स खरिद गर्नका लागि गाउँसभाले रु २० लाख बजेट विनियोजन गरेको थियो ।

एम्बुलेन्स खरिद र चालक व्यवस्थापन गर्नका लागि गाउँपालिकाले गत आर्थिक वर्ष बजेट विनियोजन गरेको थियो । अग्नी इनकर्पोरेटेड प्रा.लि. काठमाडौँबाट असार २१ गते खरिद गरिएको एम्बुलेन्स तीन दिनअघि दिक्तेल आइपुगेको गाउँपालिकाका स्वास्थ्य शाखा सह–संयोजक शेखरकुमार राजवंशीले बताउनुभयो ।

दिक्तेलबाट गाउँपालिका जाने सडक हालसम्म हिलाम्मे हुँदा एम्बुलेन्सलाई पालिका लान सम्भव नभएपछि जिल्ला समन्वय समितिको प्राङ्गणमा राखिएको छ । उक्त एम्बुलेन्स सडक मर्मत गरेर सञ्चालनमा ल्याएपछि मात्र लगिने जनाइएको छ ।

यसअघि, बराहपोखरी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकाले पनि आफ्नै बजेटबाट एम्बुलेन्स खरिद गरेर सञ्चालनमा ल्याइसकेका छन् । दश स्थानीय तह रहेको जिल्लाका धेरैजसो स्थानीय तहमा खोटाङ सेवा समाज युके, भारतीय दुतावास, खोटाङ सेवा समाज दोहा कतार र विभिन्न दाताबाट प्राप्त भएको एम्बुलेन्स सञ्चालनमा छन् ।

उता, जिल्लाको उत्तरी क्षेत्रमा रहेको रावाबेँसी गाउँपालिकामा भने स्वदेश तथा विदेशमा रहेका रावाबेँसी गाउँपालिका–६ हौंचुरका युवा र सोही गाउँपालिकाको संयुक्त लगानीमा एम्बुलेन्स खरिद गरेर प्रयोगमा ल्याएका छन् । जिल्लाका हरेक स्थानीय तहमा एम्बुलेन्स भएपनि कच्ची सडकका कारण सबै सञ्चालन भएको छैन ।

 

तपाईको प्रतिक्रिया