फाइल तस्वीर
काठमान्डौं, ३ भदौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले आफूसँग अध्यक्ष पद माग्न आएको खुलासा गर्नुभएको छ । महाधिवेशनमा पराजीत माधवले पार्टीमा बबण्डर मच्चाएर आफैसँग अध्यक्ष माग्न आएको र त्यो नपाएप्छि छुट्टै पार्टी बनाएको खुलासा ओलीले गर्नुभएको हो ।
‘कोहीकोही मान्छेलाई चार जना मान्छे मात्रै भएपनि अध्यक्ष भएर बस्नैपर्ने रोग लाग्छ, माधव नेपाललाई त्यही रोग लागेको छ, त्यसैले अध्यक्ष पदका लागि छुट्टै पार्टी बनाउनु भएको हो,’ एमाले भक्तपुरले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले भन्नुभयो, ‘पार्टीमा यत्रो बबण्डर मच्चाएर मैसँग अध्यक्ष पद चाहियो भन्दै माग्न आए, अध्यक्ष पदका लागि छुट्टै पार्टी बनाए ।’ अध्यक्ष ओलीले माधवसहित हालका सत्तारुढ गठबन्धनका दलहरुसँग एमालेलाई गाली गर्नेबाहेक कुनै एजेण्डा नरहेको पनि बताउनु भयो ।
उहाँले पार्टीमै रहँदा पनि माधवले समृद्ध नेपाल, सुखी नेपाली भन्ने नामै नलिएको बताउनु भयो । ‘कांग्रेस माओवादीसँग देश बिकाका कुनै दृष्टिकोण छ र ? यिनीहरुसँग भत्काउने, काम हुन नदिने, काम बिगार्ने, राम्रो काम गर्नेको चरित्र हत्या गर्ने काम मात्रै छ,’ ओलीले भन्नुभयो, हामीलाई गाली गर्ने बाहेक यो काम गछौं देशको लागि भन्ने केही छैन । हामीसँग योजना छ, सोच छ, समृद्धीको खाका छ, हाम्रा बिरोधीहरुसँग केही छैन ।’
उहाँले माधव अध्यक्ष बन्न एमाले छाडेपछि पार्टीमा ल्याङल्याङ सकिएको बताउनु भयो । ‘अव एमालेमा ल्याङल्याङ सकियो, पार्टी निर्माण र जनतालाई सचेत गराउन लाग्नुपर्छ, अव झगडाको जिम्मा उतै गयो, झगडा र लुटको जिम्मा उतै दिऔं, देश र जनताका लागि काम गर्ने जिम्मा हाम्रो हो ।’
जनता टाइम्स डटकमबाट