तस्वीर वेव
काठमान्डौं, ३ भदौ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेलगत्तै निर्वाचन आयोगमा दुई वटा नयाँ दल दर्ताका लागि निवेदन परेको छ । नयाँ दल नेकपा एमाले समाजवादी र जसपा नेपाल लोकतान्त्रिकले निवेदन दिएका छन् ।
राजनीतिक दल फुटाउन सहज हुने गरी अध्यादेश जारी भएलगत्तै एमाले विभाजन गरेर माधवकुमार नेपाल समूहले नेकपा एमाले समाजवादी दल दर्ताका लागि निवेदन दिएका हुन् ।
जनता समाजवादी पार्टी जसपाको आधिकारिता उपेन्द्र यादव पक्षले पाएपछि दलविहीन बनेका महन्थ ठाकुर समूहले पनि अध्यादेश जारी भएलगत्तै जसपा नेपाल लोकतान्त्रिक दल दर्ताका लागि निवदेन दिएका हुन् । निर्वाचन आयोगको अनुसार दल दर्ताका लागि निवेदन परेपछि आयोगले ऐन नियम अनुसार आवश्यक प्रक्रिया अगाडि बढ्नेछ ।
निर्वाचन आयोगमा दल दर्ताको प्रक्रिया पछि अब ४५ दिनभित्र दलको मान्यता पाउने वा नपाउने भन्ने आयोगले निणर्य गरिसक्नुपर्ने हुन्छ । आयोगको अध्ययन पश्चाचत यो बिषय टुङ्ग्याउने र त्यसको लागि केही समय लाग्ने जनाइएको छ ।
दलले माग अनुसारको नाम र चुनाव चिन्ह पाउने वा नपाउने भन्ने क्षेत्राधिकार पनि आयोगसंग हुनेछ । त्यस्तै सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्र्टी नेकपा को नाममाथि २३ फागुनमा गरेको फैसलामा पनि मिल्दोजुल्दो नाम नराख्न आदेश दिएको छ ।
यही कारण नेपालले प्रस्ताव गरेको नेकपा एमाले समाजवादी नामको प्रस्तावित पार्टी दर्ता हुन कठिन रहेको श्रोतले बताएको छ । किनकी सर्वोच्चको आदेशमा बोल्दा, सुन्दा उस्तै लाग्ने, भ्रम पर्ने गरी पार्टी दर्ता नगर्न आयोगका नाममा आदेश दिएको छ ।