काठमान्डौं, ४ भदौ । प्रमुख विपक्षी दल एमालेको मागलाई सभामुख अग्निप्रसाद सापकोटाले १४ जना सांसदलाई कारबाही गर्न अटेर गरिरहेका छन् । एमालेले १४ जना सांसदलाई कारबाही गर्न दवाव दिँदै आएको छ ।
तर, सभामुख सापकोटाले कारबाही गर्न रुचि देखाएका छैनन् । सापकोटा कसको निर्देशनमा चलेका हुन् खुलेको छैन । एमालेका अध्यक्ष केपी ओलीले सापकोटालाई निष्पक्ष भएर काम गर्न दवाव दिएका छन् । १४ जना सांसदलाई कारबाही नगर्ने हो भने सापकोटालाई संसद चलाउन नदिने ओलीको धम्की छ ।
बिहीबार एमालेका नेता तथा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई तथा सचेतक शान्ता चौधरी, महेश बस्नेत लगायतले सभामुख सापकोटालाई बिहीबार भेटेर कारवाहीमा परेका सांसदलाई पदमुक्त गर्न दवाव दिइसकेका छन् । कम्तिमा एकसाता सापकोटा एमालेका नेताहरूको कुरा सुन्ने पक्षमा छैनन् ।
यसअघि भदौ १ गते एमालेले माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, मेटमणि चौधरी लगायतलाई सांसद पदबाट हटाउने निणर्य गर्दै संसद सचिवालयमा पत्र पठाएको थियो । एमालेको उक्त कारवाही अवैधानिक भन्दै माधव नेपालसहितका नेताहरूले भदौ २ गते उक्त पत्र अघि नबढाउन सचिवालयमा अर्को पत्र पठाए पनि दर्ता भएको थिएन ।
कारबाही गरिएको व्यहोराको पत्र दर्ता भएको १५ दिनभित्र संसद चलेको भए सदनमा सभामुखले जानकारी गराउने नभए सूचना टाँस गरेर जानकारी गराउने संसदीय अभ्यास छ ।
दैनिक नेपाल डटकमबाट