विराटनगर,६ भदौ । विराटनगरस्थित मोरङको मिक्लाजुङ गाउँपालिकामा पति-पत्नीबीचको झगडा मिलाउन खोज्दा छिमेकीको हत्या भएको छ । झगडा मिलाउने क्रममा मिक्लाजुङ-७ भण्डारी टोलका ४३ वर्षीय धनराज लिम्बूको हत्या भएको हो ।
मिक्लाजुङ-६ का ३३ वर्षीय रविन तामाङ र उनकी पत्नी निरुताबीच भदौ ३ गते राति ८ः४० बजेतिर विवाद एवं झगडा भएको प्रहरीले जनाएको छ । रविन आफ्नी पत्नी निरुतासहित मिक्लाजुङ-७ भण्डारी टोलमा डेरा बस्दै आएको र उनीहरुबीच लामो समयदेखि पारिवारिक झैझगडा भइरहेको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी दीपक श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो,“पत्नीसँग झगडा परेपछि रविनले भाइहरु ३० वर्षीय आइतराज र २६ वर्षीय संजय तामाङलाई पनि बोलाएको पाइएको छ,‘उनीहरुबीच पारिवारिक झैझगडाका विषयमा छलफल भइरहेका बेला रविनका जेठान मिक्लाजुङ-६ का ४० वर्षीय भाग्य बम्जन (तामाङ)ले मिक्लाजुङ-७ का धनराज र ५५ वर्षीय दुर्गाबहादुर कार्कीलाई लिएर पुगेको खुलेको हो ।”
उहाँका अनुसार धनराज र दुर्गाबहादुर भाग्यले संचालन गरेको फ्रेस हाउसमा त्यतिबेला मासु किन्न पुगेका रहेछन्। बहिनी-ज्वाईंको झगडा भइरहेको सुनेपछि मासु किन्न आएका छिमेकीलाई समेत लिएर भाग्य घटनास्थलमा पुगेको पाइएको श्रेष्ठले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार झगडा नगर्न एवं मिलेर बस्न पति-पत्नीलाई सुझाव दिएका धनराज र दुर्गाबहादुरलाई पारिवारिक कुरामा बाहिरका व्यक्तिहरु प्रवेश गरेको भन्दै रविन, आइतराज र संजयले दाउराले कुटपिट गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
कुटपिटबाट गम्भीर घाइते भएका धनराजलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होम ल्याइएको थिया े। उनको उपचारका क्रममा शनिबार राति ११ः४५ बजेतिर मृत्यु भएको प्रमुख प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । आक्रमणमा परेर सामान्य घाइते भएका दुर्गाबहादुर उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रविन, आइतराज र संजयलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरिसकेको छ। उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ। रविनका जेठान भाग्यलाई पनि नियन्त्रणमा लिएर घटनाका बारेमा सोधपुछ गर्ने काम भइरहेको प्रहरीले जनएको छ ।