भक्तपुर,७ भदौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल एमालेमै फर्किए कार्वाही फिर्ता हुने प्रष्ट पार्नुभएको छ । माधव नेपाललाई छोडेका नेताहरुसँग आज बालकोटमा भएको छलफलमा पार्टी एकताका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउँदै अध्यक्ष ओलीले यस्तो प्रतिवद्धता जनाउनु भएको हो ।
छलफलमा अध्यक्ष ओलीले पार्टी एकताका लागि आफूले हदैसम्मको लचकता अपनाएको र अब पनि अपनाउने बताउनु भयो । बैठकमा सहभागी एमाले सचिव योगेश भट्टराईका अनुसार अध्यक्ष ओलीले माधव नेपालहरु एमालेमै फर्किए उहाँहरुमाथिको कारबाही फिर्ता हुने प्रष्ट पार्नुभएको छ । एमालेमै फर्किए माधवकुमार नेपालले गरेका गल्तीलाई माफ गर्न सकिने अध्यक्ष ओलीले बताउनुभएको भट्टराईले जानकारी दिनुभयो ।
सचिव भट्टराईका अनुसार माधव नेपालसहितका नेताहरु नयाँ पार्टी दर्ता गर्ने निणर्यबाट फिर्ता भए अहिलेसम्मका सबै कारबाही निष्कृय हुने प्रतिबद्धता ओलीले जनाउनु भएको छ । ‘पार्टी दर्ता प्रक्रियाबाट अलग भए माधवहरुमाथि गरिएको कारबाही फिर्ता हुने कुरा अध्यक्षले प्रष्ट पार्नुभएको छ,’ छलफलपछि भट्टराईले भन्नुभयो । छलफलमा अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्ने बताउनु भएपछि सहमतिका साथ मंगलवार स्थायी कमिटी बैठक बोलाइएको छ ।
सो बैठकमा माधव छाडेका सवै नेताहरु सहभागी हुनुहुने भएको छ । ‘अध्यक्षले अत्यन्तै सकारात्मक धारणा राख्नुभएको छ, पार्टीलाई एकताबद्ध गर्न जिम्मेवार छु भन्ने प्रतिबद्धता जनाउनु भएको छ, पार्टीमा सबैलाई समान व्यवहार गर्ने, पुरानो जिम्मेवारी यथावत राख्ने, कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने ऐतिहासिक अभिभारा पूरा गर्न नेकपा एमालेलाई एकताबद्ध गर्न आफू पूणर् रुपमा लाग्ने प्रतिबद्धता जनाउनुभएको छ,’ भट्टराईले भन्नुभयो ।
सचिव भट्टराईले केन्द्रदेखि तलसम्म २०७५ जेठ २ को अवस्थामा एमालेलाई क्रियाशील गराइने प्रतिबद्धता अध्यक्षबाट आएको र सोहीअनुसार पार्टी अघि बढने प्रष्ट पार्दै नयाँ पार्टी दर्ता प्रक्रियामा रहेकाहरुलाई एमालेमै फर्कन आग्रह पनि गर्नुभयो ।