औपचारिकरुपमा २०७५ जेठ २ मा फर्कियो एमाले

0 Shares

काठमान्डौं,८ भदौ । नेकपा एमाले औपचारिकरुपमै २०७५ जेठ २ मा फर्किएको छ । माधव नेपाललाई छाडेका असन्तुष्ट नेताहरुसहित पहिलोपटक बसेको स्थायी कमिटी बैठकले पार्टीका सबै संगठनलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने निणर्य गरेको छ ।

नयाँ निणर्यसँगै एमालेले १० बुँदे सहमति कार्यान्वयनमा ल्याएको हो । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले दिएको जानकारी अनुसार बैठकले पार्टीको पक्षमा क्रियाशील रहने केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्ला र सबै तहका कमिटीलाई २०७८ जेठ २ पूर्वको अवस्थामा क्रियाशील हुन निर्देशन दिएको छ ।

एमालेले पार्टीको आन्तरिक एकताका लागि तयार भएको १० बुँदे सहमतिलाई सन्दर्भ सामग्रीकोरुपमा लैजानेसमेत निणर्य गरेको छ ।

ज्ञवालीका अनुसार ०७५ जेठ २ को अवस्थामा लैजाँदा आउने समस्या समाधान गर्न ईश्वर पोखरेल, भीम रावल, घनश्याम भूसाल, लेखराज भट्टलगायतका नेताहरु रहेको कमिटी बनाइएको छ ।

एमालेले जेठ २ लाई आधार मानेर पार्टी सदस्यता नवीकरण गर्ने, विधान महाधिवेशन आगामी असोज ४, ५ ६ गते काठमाडौंमा गर्ने तथा काठमाडौंमै आगामी मंसिर १०, ११ र १२ गते महाधिवेशन गर्ने निणर्य गरेको छ । विधान महाधिवेशनका लागि दस्तावेज तयार गर्न भदौ २५ र २६ स्थायी कमिटी बैठक बोलाउने निणर्य गरेको छ ।

एमालेले आगामी कात्तिक ६ गते वडा र कात्तिक ९ गते पालिका, नगर अधिवेशन गर्ने निणर्य गरेको छ । साथै, भदौ १६ देखि जिल्ला कार्यकर्ता भेला र जनसंगठनका भेला गर्ने तथा भदौ १० गते केन्द्रीय कमिटीको बोलाउने निणर्य भएको छ ।

तपाईको प्रतिक्रिया