उदयपुर,९ भदौ । उदयपुरमा बाख्रा चराउन गएकाहरुलाई सेनाले निर्घात कुटपिट गरेको छ । मंगलबार साँझ करिव ४ बजेको समयमा त्रियुगा नगरपालिका-३ भुल्केस्थित-१८ नम्बर बाहिनी अड्डाका डिउटीमा रहेका सेनाका जवानहरुले बाख्रा चराउन गएकाहरुलाई कुटपिट गरेका हुन् ।
कुटपिटबाट स्थानीय ४० वर्षीय मोहमद इसराइल, २० वर्षीय रेतुन खातुन, ३४ वर्षीय मन्जु खातुनलगायत चार जना घाइते भएका छन् । घाइते मध्ये मोहमद इसराइल गम्भिर घाइते भएको पारिवारिक श्रोतले जनाएको छ । भुल्के सामुदायिक वन उपभोक्ता समूहको वनमा बाख्रा चराउँदै घाँस लिएर आउँदै गर्दा डिउटीमा रहेका सेनाहरुले विना बहाना निर्घात कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रत्यक्षदर्शीका अनुसार हामी चार पाँच जनाले बाहिनीले तारबार गरेको भन्दा पूर्वपट्टिको जंगलमा बाख्रा चराउँदै घाँस काट्दै गरेको अवस्थामा जथाभावी कुटपिट गरेको । उनका अनुसार पाँच जना मध्ये एक जना सैनिकले महिलामाथि पनि कुटपिट गरेको थियो भने चारले कुटपिट हुन नदिन रोक्न खोजेको घाइते मन्जु खातुनले बताईन् । उनले भने, ‘बुटको जत्ताले हिर्कायो, इसराइलीलाई धेरै कुट्यो ।’
रक्सी खाएर आएका सेनाका जवानले हामी महिलामाथि जथाभावी बुट प्रहार गरेको घाइते रेतुन खातुनले बताईन् । उनका अनुसार बाख्रालाई घाँस टिपेर आउँदै गर्दा एकासी कुटपिट गर्नुको साथै गाली गलौज समेत गरेको बताईन् । कुटपिटबाट इजराइलको काँखमुनी, पिठ्यु, ढाँड र क्षातिमा निलडाम रहेको आफ्न्तले जनाएको छ ।
१८ नं. बाहिनी अड्डाका मेजर विकास शाक्यका अनुसार सामुदायिक वन भन्दा बाहिनीले घेरेको क्षेत्रमा प्रवेश गरेपछि सामान्य ठेलाठेल भएको बताए । उनका अनुसार भुल्के सामुदायिक वन र बाहिनी अड्डा पूर्व बाटो छ, त्यस बाटोबाट नियमित घाँस काट्न जानेहरुले सेनाका जवानहरुलाई गाली गलौज गर्ने गरेको आज पनि गाली गलौज गर्ने मध्ये एक जना तारबार भित्र छिरी लठ्ठीले सेनाका जवानहरुलाई कुट्न आउनुको साथै हतियार खोस्न आएकोले ठेलमठेला भएको मेजर शाक्यले बताए । मेजर शाक्यले भने, ‘हाम्रो जवानले कसैलाई कुटपिट गरेको छैन्, अहिले धमिलो पानीमा माछा मार्ने काम भयो ।’
घाँस काट्न गएका स्थानीयलाई डिउटीमा खटिएको सेनाबाट कुटपिट भएपछि स्थानीहरुले साँझ १८ नं. वाहिनीको गेटमा आज बेलुका धर्ना दिदै विरोध जनाएका थिए ।
धर्नामा रहेका स्थानीयहरुका अनुसार विगतका दिनहरुमा पनि सेनाका जवानहरुले हामीमाथि ज्यादती गरेको आरोप लगाएका थिए । विगतमा हामीहरुको जग्गा सोध्दै नसोधी घेराबेरा गर्ने, कहिले सामुदायिक वनको जग्गा सोध्दै नसोधी घेराबेरा गर्ने, वन जंगल जाने बाटो घेराबेरा गर्ने लगायत स्थानीयहरुलाई धम्काउने गरेको स्थानीयहरुको आरोप रहेको छ ।
विगतमा ब्यारेक भित्रको पानी खोला थुनेर नम्बरी जग्गामा लगाई दिएको समेत आरोप लगाएका थिए ।कुटपिटबाट घाइते इसराइलीको १८ नं. बाहिनी अड्डा अन्तर्गत सामुदायिक सर्पदंश उपचार केन्द्रमा उपचार पछि जिल्ला अस्पताल रेफर गरिएको घाइतेका आफ्न्तले जानकारी दिए ।बाहिनी र स्थानीयबीच घटनाबारे बुधबार विहान साढे आठ बजे छलफल हुने सहमति भएपछि स्थानीयहरु घर फर्केका थिए ।
यो समाचार नागरिक बहस डटकममा प्रकाशित छ ।