इटहरी,९ भदौ। एक नम्बर प्रदेश की सामाजिक विकास मन्त्री उशाकला राईले प्रदेश -१ मा कोरोना संक्रमण न्यूनीकरणका लागि जिल्ला स्तरमा खटिने स्वास्थ्यकर्मीलाई ३ सय प्रतिशतसम्म भत्ताको व्यवस्था गरिने बताउनुभएको छ ।
कोरोना महामारीको समयमा जिल्ला अस्पतालहरुमा उचित मानवसंसाधन र उपकरणको व्यवस्था नहुँदा धेरैले ज्यान गुमाउनु परेको स्मरण गराउँदै आफ्नो कार्यकालमा प्रदेशका १४ वटै जिल्ला अस्पताललाई परिष्कृत गरिने मन्त्री राईले जानकारी दिनुभयो ।
मन्त्री राईका अनुसार भौगोलिक क्षेत्र अनुसार चिकित्सकलाई भत्ताको व्यवस्था गरिने छ भने पहाड र तराईको तुलनामा हिमालमा काम गर्ने चिकित्सकलाई बढी सेवा सुविधा दिने रणनीति अघि सारेका छौँ । यसले दुर्गम क्षेत्रमा खस्किएको स्वास्थ्य संस्थाको स्तरमा सुधार आउने छ ।
दुई जना विशेषज्ञ डाक्टरहरुको लागि हिमाली जिल्लामा तीन सय प्रतिशत, पहाडमा २५०, तराईको हकमा २०० प्रतिशतले तलबभत्ता वृद्धि गर्ने निणर्य गरेर बजेट नै विनियोजन गरिएको मन्त्री राईले बताउनुभयो ।उहाँलेृ भन्नुभयो,“यसो गर्नले कोरोना महामारी नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीमा सकरात्मक उत्प्रेरण मिल्ने र काममा उत्साह थपिने छ’ जसले गर्दा हिमाल र पहाडका जिल्लाबाट तराईमा उपचारका लागि आउनुपर्ने बाध्यता हट्नुको साथै लामो दूरीका कारण बाटोमा नै हुनै मृत्युमा कमी आउने छ ।”