काठमाडौं,९भदौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षले घर-घरबाट नेता-कार्यकर्तालाई तानेर रिसोर्टमा थुनेको आरोप लगाउनुभयो । उहाँले घर-घरबाट फकाएर, मिठा कुरा गरेर पिँजडामा थुनेको संज्ञा दिनुभएको हो । बैठकका नाममा ललाइफकाइ लगेर घेराबन्दी गरेर राखिएको भन्दै उहाँले भन्नुभयो,‘घर-घरबाट व्यक्ति तानियो, ललाइफकाइ गरेर, मीठा गुलिया वचन बोलेर सुनको पिँजडामा थुनियो ।’
अध्यक्ष ओलीले मीठै खान दिइए पनि राम्रै ठाउँमा सुताइए पनि पिँजडा त सुनकै भए नि पिँजडा नै भएको बताउनुभयो ।रिसोर्टमा भएको बैठक के कस्तो बैठक भन्दै उहाँले थप्नुभयो, ‘पार्टीको बैठक यस्तो हुन्छ ? साधारण सदस्यदेखि नेतासम्म सहभागी हुने ? कि केन्द्रीय समिति हुन्छ, कि स्थायी समिति हुन्छ । यो कुनै बैठक थिएन ।’