खोटाङ,९ भदौ । आयुर्वेद शाखा खोटाङबजारको नवनिर्मित भवन सञ्चालनमा ल्याइएको छ । वि.सं. २०७२ असार २० गते शाखा कार्यालयको रुपमा स्थापना भए पनि भाडाको घरमार्फत सेवा प्रवाह गर्दै आएको छ वर्षपछि आर्युवेदको आफ्नै कार्यालय भवन निर्माण गरेर सञ्चालनमा ल्याइएको हो ।
आयुर्वेदका लागि स्वास्थ्य मन्त्रालयको रु ८२ लाख ५० हजार (भ्याट बाहेक) को लागतमा छ कोठासहितको दुई तले आरसिसी भवन निर्माण गरिएको जनाइएको छ । सघन शहरी तथा भवन निर्माण आयोजनामार्फत प्राप्त भएको बजेटबाट चरम ढिलासुस्ती र अलमलकाबीच भवन निर्माणको काम पुरा गरिएको हो ।
कार्यालय स्थापना भएकै सालदेखि भाडाको घरमा सञ्चालित आयुर्वेदको आफ्नै नवनिर्मित कार्यालय भवन बुधबार एक कार्यक्रमकाबीच खोटेहाङ गाउँपालिकाका प्रमुख प्रदीप राईले उद्घाटन गर्नुभयो । आयुर्वेद शाखाबाट खोटेहाङ गाउँपालिका सहित, जन्तेढुङ्गा गाउँपालिका, बराहपोखरी गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका सर्वसाधारण लाभान्वित भएका छन् ।
गोर्खा अर्जुन जेभी कन्ट्रक्सनले ठेक्का लिएको भवनको तीन/चार पटक पेटी ठेकेदार परिवर्तन गरिएको थियो । अन्तिममा स्थानीय निर्माण व्यवसायी राम कार्कीले आयुर्वेद शाखाको अधुरो काम पुरा गरेको गाउँपालिकाले जनाएको छ ।
कहिले बेलामा बजेट नआउँदा र कहिले निर्माण व्यवसायीका कारण आयुर्वेद शाखाको भवन निर्माणको काममा ढिलासुस्ती भएको बताइएको छ । आयुर्वेद शाखाको औषधि खरिदका लागि गाउँपालिकाको प्रत्येक वर्ष रु तीन लाख बजेट उपलब्ध गराउने गरेको जनाएको छ ।
आयुर्वेद औषधिले ‘साइड इफेक्ट’ नगर्ने भएकाले पछिल्लो समय स्वास्थ्य सेवाका लागि आयुर्वेद शाखामा चेकजाँज गर्न आउने स्थानीय बढेको गाउँपालिका प्रमुख राईले जानकारी दिनुभयो । प्रमुख राईका अनुसार नवनिर्मित आयुर्वेद स्वास्थ्य शाखाको भवन निर्माण गत साल नै सम्पन्न भए पनि ठेकेदार कम्पनीले हस्तान्तरण गरेको थिएन ।
नविर्मित भवन ठेकेदार कम्पनीले हस्तान्तरण गरेलगत्तै उद्घाटन गरिएसँगै आयुर्वेदले आफ्नै स्वास्थ्य शाखाबाट नागरिकलाई उपचार सेवा प्रदान गर्न थालेको छ ।
“आयुर्वेद स्वास्थ्य शाखा व्यवस्थित नहुँदा खोटेहाङ गाउँपालिकाका साथै अन्य पालिकाका नागरिकलाई समेत सेवा प्रदान गर्न सकस थियो”, प्रमुख राईले भन्नुभयो, “स्वस्थ मानिसको स्वास्थ्य कायम राख्दै बिरामीहरुको उपचार गर्नुनै आयुर्वेदको मुख्य उद्देश्य हो, स-साना समस्यामा समेत चिकित्सकको सिफारिस बिनानै बजारका औषधि सेवन गर्ने गलत बानी हटाउनु छ । आयुर्वेदिक उपचार पद्दतीमार्फत बिरामीको दीगो उपचार हुन्छ ।”
गाउँपालिकाले आफ्ना नागरिकलाई स्वास्थ्यको मेरुदण्डको रुपमा रहेको आयुर्वेद शाखाबाट सेवा लिन सबैमा अपिल गरेको छ ।