झापा, १० भदौ । नेकपा एमाले विभाजित भए पनि अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्लामा एमाले नै बलियो देखिएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा विगतमा खुलेर लागेका नेताहरू पार्टी विभाजनसँगै ओली पक्षमा देखिएका हुन् ।
नेता नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) दर्ता भएपछि नेपालको ससुराली जिल्ला झापामा उहाँको पार्टी केन्द्रीय सदस्यविहीन बनेको छ । एमालेको नवौँ महाधिवेशनमा दुई वैकल्पिक केन्द्रीय सदस्यसहित चार केन्द्रीय सदस्य निर्वाचित भएको जिल्लामा नेपालको समाजवादी केन्द्रीय सदस्यविहीन बन्न पुगेको हो ।
दर्ताका लागि निवेदन पेस गर्दा झापाबाट केन्द्रीय सदस्यमा रविन कोइराला, नरेश खरेल र भास्कर काफ्लेको नाम समावेश भएको थियो । काफ्ले २ जेठ २०७५ अघि एमालेको वैकल्पिक केन्द्रीय सदस्य हुनुहुन्थ्यो । यी तीनै नेताले पार्टी बिभाजनमा नलाग्ने भनेर एमालेमै रहनुभएको छ । नयाँ पार्टीमा समावेश भएका तीन केन्द्रीय सदस्यले इच्छा नदेखाएपछि नेपालको नयाँ पार्टी झापामा केन्द्रीय सदस्यविहीन भएको छ ।
जनप्रतिनिधिमा पनि कमजोर
नवगठित पार्टी जनप्रतिनिधिका हिसाबले पनि कमजोर देखिएको छ । एमालेबाट फुटेको यो पार्टीमा निर्वाचित जनप्रतिनिधि पनि कम छन् । तत्कालीन एमालेले प्रतिनिधिसभामा झापाको पाँचवटा निर्वाचन क्षेत्रमध्ये तीनवटामा जीत निकालेको थियो । विगतमा झापा-२ बाट प्रतिनिधिसभामा निर्वाचित पवित्रा निरौला खरेल माधव समूहमा हुनुहुन्थ्यो । तर, पार्टी विभाजनसँगै उहाँले माधव समूह त्याग्नुभएको छ । योसँगै झापामा निर्वाचित तीन प्रतिनिधि सदस्यहरू नै एमालेमा रनुभएको छ । यस्तै १० वटा प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये आठवटा एमालेले जितेको थियो । आठ जनानै प्रदेशसभा सदस्य एमालेमै रहेका छन् । निर्वाचित जनप्रतिनिधिमध्ये जिल्ला समन्वय समिति उपप्रमुख मीना पराजुली र एक नगरपालिका अध्यक्ष मात्रै नेपालको पार्टीमा खुल्नुभएको छ ।
झापामा १५ स्थानीय तहमध्ये एमालेले सातवटामा प्रमुखरअध्यक्ष र ११ वटामा उपप्रमुखरउपाध्यक्ष जितेको छ । त्योमध्ये अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना नेपालको पार्टीमा खुल्नुभएको छ । यस्तै, ११ उपप्रमुखमध्ये तीनजना नेपाल समूहमा देखिएका छन् । बिर्तामोड उपप्रमुख पवित्रा महतरा प्रसाईं, भद्रपुर उपप्रमुख चन्द्रमाया श्रेष्ठ र शिवसताक्षीकी उपप्रमुख भोजकुमारी नेपाल मात्रै माधवको पार्टीमा देखिनुभएको छ ।